काठमाडौं। एसीसी प्रिमियर लिग अन्तरगत सिंगापुर विरुद्धको खेलमा यूएई विशाल स्कोरतर्फ लम्किएको छ। कप्तान मुहम्मद वसिमले सिंगापुरका बलरहरुलाई निरिह बनाउँदै विष्फोटक पारी खेले।
टस जितेर पहिलो ब्याटिङ गर्ने आफ्नै निर्णयलाई सही सावित गर्दै वसिमले त्रिवि क्रिकेट मैदानमा छक्का र चौकाको वर्षा गरेका थिए। उनी केवल ८२ बलमा १६० रन बनाएर आउट भएका छन्। उनको इनिङमा १६ छक्का र ९ चौका समावेश थिए।
यूएईले २२ रनकै अवस्थामा ओपनर आर्यन लाक्रालाई गुमाएको थियो। उनी ७ बलमा १२ रन बनाएर आउट भए। त्यसपछि दोस्रो विकेटकालागि वसिमले भृत्य अरविन्दसँग २४६ रनको विशाल साझेदारी गरेका थिए। यही साझेदारीको बलमा यूएईले ४०० को स्कोरतर्फ आँखा लगाइरहेको छ।
वसिमले सुरुवातमा केही बलहरु डट खेलेका थिए। ११ बल खेल्दा ५ रनमात्र जोडेका उनले १२ बलमा पहिलो छक्का प्रहार गरे। त्यसपछि उनी रोकिएनन्। विनोद बसकर र रामेश कालिमुथुले केही हदसम्म रनमा अंकुश लगाए पनि सिंगापुरका कुनै पनि बलरले वसिमलाई रोक्न सकेनन्।
अर्का व्याट्समयान भृत्य पनि शतकको नजिक पुगेका छन्। उनलाई अहिले रमिज सहजादले साथ दिइरहेका छन्। यो समाचार लेख्दासम्म यूएईले २९.३ ओभरमा २७९ रन बनाएर खेलिरहेको छ। विष्फोटक ब्याट्सम्यान आसिफ खान अहिले क्रिजमा आएका छन्।