काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि कोसी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रमहरूका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।
नेकपा एमाले कोसी प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार अध्यक्ष ओली आज बिहान काठमाडौँबाट भद्रपुरका जाने कार्यक्रम छ ।
आज झापाको बुद्धशान्त्ति गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पाठकले जानकारी दिनुभयो ।
अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षेत्र कन्याममा बस्ने तय भएको छ । बिहीबार इलाममा आयोजना हुने जिल्ला परिषद् भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार नै उहाँ पाँचथरको फिदिममा बास बस्नुहुनेछ ।
वैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिका पुग्नुहुनेछ । आठराईमा अध्यक्ष ओलीले सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ । सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरूसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ ।
तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्नुहुने १६ गते बिहान फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा बस्नुहुनेछ । दमकमा पार्टीले आयोजना २८ गते देखि आयोजना गरेको केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
बैठक स्थलको निक्र्यौल, नेताहरूको वासस्थानको व्यवस्था, बैठकपछि झापाका विभिन्न राजनीतिक र पर्यटकीय स्थलहरू नेताहरूलाई अवलोकन गराउने ठाउँहरू टुङ्गो लगाइने थापाले जानकारी दिनुभयो ।
अध्यक्ष ओली १७ गते झापाबाट काठमाडौँ फर्कनुहुनेछ ।