८ मंसिर २०८१, शनिबार 1732366285
Banner

लुम्बिनी र गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दै

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दै छ । केन्द्रको सत्ता समीकरण फेरिएसँगै यसको असर प्रदेशमा परेको हो। लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन  प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्न लागेका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मंगलवार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

प्रदेश प्रमुखको आह्वानसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमवार विश्वासको मतका लागि प्रदेश सभामा गरेको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यता गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने बिषयमा असन्तुष्टि बढेको छ । गण्डकीमा आलोपालो सरकार बनाउने गठबन्धनमा सहमति भएको माओवादी नेताको दाबी छ । पहिलो नेतृत्व माओवादीले गर्ने भनिएपनि हाल आएर काँग्रेसले सरकारको नेतृत्व गर्ने भनिएपछि असन्तुष्टि बढेको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आहृवान गरेपछि गण्डकीमा नेपाली कांग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ।  

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो। वैशाख ९ गते एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले  प्रदेशसभाबाट विश्वासको मत नपाएपछि गण्डकी सरकार ढलेको थियो। ​

कांग्रेसले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा पठाउने तयारी छ। आलोपालो गर्ने सहमति भए पनि पहिलो नेतृत्व नपाएको भन्दै माओवादी केन्द्र असन्तुष्ट देखिएको छ। 

६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्र सांसद छन्।