काठमाडौं-वैशाख २८ देखि ३० गते सम्म सञ्चालन भइरहेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेतले ११ बुँदे सुझाव प्रस्तुत गर्नुभएको छ।
नेता बस्नेतले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र सबै नेताहरूको सम्पत्ति हरेक वर्ष सार्वजनिक गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।
दुई दिनदेखि च्यासलमा जारी पाँचौँ केन्द्रीय कमिटी बैठकमा ११ बुँदे सुझाव प्रस्तुत गर्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो।
‘विगतमा भएका कमीकमजोरीको समीक्षा गरौँ। गल्ती सुधार गर्दै सुशासन दिने, भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाऊँ’, उहाँले केन्द्रीय कमिटीमा सुझाव प्रस्तुत गर्दै भन्नुभएको छ, ‘पार्टी नेताहरु र जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गरौँ। त्यसलाई वर्षैपिच्छे अद्यावधिक गरौँ।’
पूर्वमन्त्रीसमेत रहेका बस्नेतले संघीयताको पुनरावलोकन गर्ने समय पनि आइसकेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘संघीयताको पुनरावलोकन गरौँ। शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊँ। निर्वाचन कम खर्चिलो बनाऊँ। राजनैतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौँ।’
एमाले केन्द्रीय कमिटी बैठकमा नेता महेश बस्नेतले राख्नुभएको सुझाव:
१) विज्ञ सदस्य बनाउ विविध क्षेत्र, पेशागत, व्यावसायिक र सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नवयुवा र महिलाहरुलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गरौं । त्यस्को तीन महिनापछि उक्त सदस्यहरुलाई संगठित गरी पार्टी नेता र मुलुक हाक्ने जनप्रतिनिधि बनाउ।
२) युवाहरुलाई उनीहरुको आधारभूत आवश्यकता पूरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशिलता विकास हुने गरी निर्वाचित जनप्रतिनिधिहरुलाइ खटाउने र पार्टी कमिटी पनि सोही उद्देश्य पूरा गर्नेगरी दक्ष साथीहरु राखेर जाउँ ।
३) पार्टीले विगतमा गरेको महत्वपूर्ण उपलब्धि व्पापक प्रचार गर्ने नयाँ कार्यक्रमहरुलाई ब्राण्डेड गरेर प्रचार गराैं।
४) विगतमा भएका कमिकमजोरीको समिक्षा गरौं। गल्ति सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँ।
५) पार्टी नेताहरु र जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक गराै र वर्षै पिच्छे अध्यावधिक गरौं।
६) संघीयताको पुनराबलोकन गरौं । शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउँ। निर्वाचन कम खर्चिलो बनाउँ । राजनैतिक स्थिरताको लागि दुई दलिय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखाैं।
७) दुई कार्यकाल प्रधानमन्त्री तीन कार्यकाल मन्त्री र चार कार्यकाल सांसद भन्दा बढी हुन नपाउने संबैधानिक ब्यवस्था गरौं ।
८) पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत जिल्ला र स्थानीय तहको कमिटीमा ३५ प्रतिशत ४० वर्ष मुनिका युवा प्रतिनिधित्व ग्यारेन्टी गरौं।
९) युवा संघको उमेरहद ३५ वर्ष, अनेरास्ववियुको ३० वर्ष र पार्टीको सबै तहमा जनसगठन परिचालन संयन्त्र निर्माण गरौं ।
१०) सोसियल मिडिया र मिडिया परिचालन, कानूनी क्षेत्र, प्रचारको क्षेत्र, युवा विद्यार्थीको परिचालन, परराष्ट्र क्षेत्र, प्रवासको काम कमजोर भएकोले यो क्षेत्रमा सही स्मार्ट र कृयटिभ नेतृत्वलाई जिम्मा दिउँ।
११) देश भक्त, जनवादी र प्रगतिशील शक्तिहरुको बीचमा एकता अभियान चलाउदै साम्रज्यवादी, सामन्तवादी, यथास्थितिवादी र सस्तो लोकप्रीयतावादीहरुका विरुद्ध र तिनले शृजना गरेका भ्रम चिर्न लागौं।