८ मंसिर २०८१, शनिबार 1732382020
Banner

रामेछापका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ। शरणार्थी प्रकरणमा रामेछापका जिल्लाबाट निर्वाचित पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो ।

आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ। अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले भने, ‘केशव दुलाल र सानु भण्डारी थुनामा परेपछि उनीहरूका दाजु–भाइसँग शेर्पाले बालकृष्ण खाँणले लिएको रकम फिर्ता गर्ने कागज समेत गरेको थाहा भएको छ।’

तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्, ‘मन्त्री खाँण र सचिव पाण्डेका लागी एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’

१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाँणका स्वकिय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । केसीलाई प्रहरी वृत लैनचौरको हिरासतमा राखिएको छ ।