पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारपाको समेवामा ट्याक्टरले किचेर एकै घरका दुई बालिकाको ज्यान गएको छ।
मे १ त २९६१ नम्बरको ट्याक्टरले किचेर स्थानीय कमल सुवेदीकी १३ वर्षीया जेठी छोरी पुजना र ९ वर्षीया माहिली छोरी गंगा सुवेदीको ज्यान गएको हो । हेवाँ खोलादेखि बालुवा बोकेर गएको ट्याक्टरले उनीहरूलाई किचेको थियो।
आज बिहान चालक सिटको छेउमा रहेका पुजना र गंगा उछिट्टिएर झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ। चालक भाग्न खोज्दा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिनुभयो ।
डालीमा बालुवामाथि बसेका दुईजना विद्यार्थी घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टरमा ११ जना विद्यार्थी चढेका थिए। ट्याक्टरका चालक तथा सहचलाक फरार रहेका छन्।