९ मंसिर २०८१, आइतबार 1732442073
Banner

जलहरी प्रकरणमा अध्यक्ष ओलीलाई जोडेर संसद्‍मा अभिव्यक्ति दिनु उचित होइन: प्रधानमन्त्री दाहाल

काठमाडौं – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित नभएको बताउनु भएको छ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमा समय लिएर बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो।

‘श्री पशुपतिनाथ मन्दिरमा रहेको को जलहरीबारे सदनमा चर्चा उठेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,, ‘पशुपतिनाथ मन्दिरको जलहरी लगायतको विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको हो। र सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन।’

जलहरीका केही विषयबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परी छानबिन भइरहेको उहाँले प्रष्ट पार्नुभयो।

‘अख्तियार दूरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसमा सरकारको सहयोग रहनेछ। पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन।’

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो।