काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ ।
प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले बैठकमा स्थानीय निर्वाचन केन्द्रित रिपोर्टिङ गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
अध्यक्षहरुले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बैठकमा रिपोर्टिङ सुनाउनु भएको थियो । ‘पार्टीप्रति देशैभरि तीब्र जनआकर्षण बढेको छ, आधारभूत तहदेखिकै पार्टी कमिटीहरू चलायमान छन्, ‘फुटको असर अत्यन्त न्यून छ त्यसैले नेकपा एमाले पहिलो शक्ति बन्ने आधार कायमै छ’ प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले बताउनु भयो ।
सबै प्रदेश अध्यक्षले आ–आफ्ना प्रदेशमा पार्टीको संगठनबारे धारणा राख्नु भएको थियो ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको तेस्रो बैठक बोलाइएको हो ।