११ कार्तिक २०८१, आइतबार 1730052932
राजनीति

योग जीवनशैलीको निश्चित विधि र प्रक्रिया हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल योग भूमि र यो धरोहर भएको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए।

नेपालका सांस्कृतिक इतिहासअनुसार यहाँका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान, विज्ञान र वास्तु इन्जिनियरिङको प्रयोग गरिएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए।

तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ।हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।