३ आश्विन २०८१, बिहिबार 1726810555
Banner

चिनियाँ विदेशमन्त्री नेपालमा

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आइपुग्नुभएको छ।

तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको राजधानी नयाँदिल्लीबाट नेपाल आउनुभएको हो। चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गर्नुभएको छ।

विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै काठमाडौं आइपुग्नुभएको हो। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउनुभएको हो।

विमानस्थलबाट उहाँ बत्तीसपुतलीस्थित होटल द्वारिकामा पुग्नुभएको छ। शुक्रबार कुनै औपचारिक कार्यक्रम राखिएको छैन। शनिबार उहाँले भेटघाट गर्नुहुनेछ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रतिनिधिमण्डलको वार्तापछि दुई देशबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।