२५ मंसिर २०८१, मंगलबार 1733854147
Banner

पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो : अध्यक्ष ओली

उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाइदिने बताउनुभएको छ । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको ओलीको भनाइ छ ।

‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो,’एमाले उदयपुरमा जनसभालाई शुक्रबार गाईघाटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो,‘पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ ।’ सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी नआएको उहाँले बताउनुभयो ।

पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो । ‘हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘निकट भविष्यमा नै चुनाव आउँदैछ, त्यसमा पुनस् जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौं ।’

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई ओलीले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।