२७ भदौ २०८३, शनिबार 1789243394
Banner

मध्यावधीको तयारीमा छैनौं तर परिस्थितिले पुर्‍याए जाने हो : मुख्यमन्त्री कार्की

काठमाडौं। प्रदेशसभाबाट विश्वासको मत नपाएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधी चुनावको तयारीमा नभएको बताएका छन् ।

मध्यावधीबारे सोधिएको प्रश्नमा एमाले संसदीय दलका नेता कार्कीले भने, ‘मध्यावधीको तयारीमा छैनौं, परिस्थितिले पुर्‍यायो भने जाने हो ।’

प्रदेशसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले अब प्रदेशसभाको सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।

विश्वासको मत लिने कार्कीको प्रस्ताव शुक्रबार मात्र प्रदेशसभाले अस्वीकृत गरेको थियो । प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ चाहिन्थ्यो । कार्कीले विश्वासको मत नपाएसँगै एमाले नेतृत्वको सरकार ढल्यो भने अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

१६८(२) अनुसार सरकार गठनको आह्वान भए एमालेले नेतृत्व दाबी गर्छ भन्ने प्रश्नमा उनले नगर्ने बताए ।प्रतिपक्षमा बस्ने हो भन्ने प्रश्नमा उनले भने, ‘परिस्थितिले जहाँ पुर्‍याउँछ, त्यही बस्ने हो ।’