८ मंसिर २०८१, शनिबार 1732350547
Banner

२०औँ धान दिवस : कृषकलाई पुरस्कृत गर्नेदेखि बाह्रैमास सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने गरी काम भइरहेको बताएकी छन् ।

बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरिएको रोपाइँ महोत्सवमा आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै यस्तो बताएकी हुन् ।

‘भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ,’ उनले भनिन्, ‘धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पु¥याउन हामीले काम गरिरहेका छौँ ।”

अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएका उल्लेख गर्दै उहाँले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पु¥याइरहेको बताइन् । ‘अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ,’ उनले भनिन् ‘निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।’

आज राष्ट्रिय धान दिवसको अवसर पारेर भरतपुरमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री आउनुले पनि यहाँको कृषि क्षेत्रले सबैको ध्यान खिचेको दाहालले बताइन् । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी देशका शीर्ष नेता यहाँ आउनुले भरतपुरको प्रचारप्रसारमा थप टेवा पुगेको उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि धान दिवस मनाउन चितवन पुगेका थिए ।

महानगरपालिकाले किसानलाई अनुदानमा बीउबिजन उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनले बताइन् । पछिल्लो पाँच वर्षमा महानगरपालिकाले सात हजार बिघा क्षेत्रफलमा वैकल्पिक व्यवस्था गरेर सिँचाइ पु¥याएको भन्दै उनले सिँचाइका लागि मात्रै रु चार अर्ब बढीको आयोजना सञ्चालनमा रहेका बताइन्

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुर महानगरपालिले त्रिपुरेश्वर कृषि सहकारीसँगैको सहकार्यमा आज राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरेको हो ।

यस्तै बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा आज धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । उजेलापुरस्थित भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाले बाजागाजासहित रोपाइँ गरेर दिवस मनाइएको हो ।

वडा नं १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवद्र्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्ष, महाशाखाका निर्देशकसहित स्थानीयको सहभागिता रहेको थियो ।

नगर प्रमुख पाण्डेयले बुटवलका १२ देखि १९ सम्मका वडामा खेतीयोग्य जमिन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको बताए । उनले उपमहानगरलाई चाहिने आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको बताए ।
उनले बुटवल–१४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको जनाउँदै आगामी वर्षदेखि तरकारी र धान, गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताए ।

कृषिबाटै मुलुकको उन्नति हुने जनाउँदै किसानले अझै बढी चासो दिनुपर्ने उनको भनाइ थियो ।

यस्तै, तनहुँका व्यावसायिक कृषकलाई प्रदेश उत्कृष्ट कृषि पुरस्कार प्रदान गरिएको छ । भानु नगरपालिका–१२ स्थित मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म प्रालिका सञ्चालक कुशलचन्द्र अधिकारीले गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत् उत्कृष्ठ कृषि पुरस्कार प्राप्त प्रदान गरिएको हो ।
उक्त पुरस्कारको राशि ३० हजार रहेको छ । धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महेन्द्रध्वज जिसीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
कृषि तथा पशुपालनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्नातकोत्तर अध्ययन गर्नुभएका अधिकारीले घलेछापमा बाख्रापालन गर्दै आएका छन्। कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सोचसहित बाँझो जग्गाको प्रयोग गरी उनले बाख्रापालन गरेका छन् ।

उनको फार्ममा ६५ बाख्रा, १२ भैँसी, एउटा ब्याडे राँगो छ । तीस वर्ष बहराइनमा रोजगारी गरेका बुबाको प्रेरणाले यो व्यवसायमा लागेको अधिकारीले बताए । पर्यटन व्यवसायमा लागेका धिकारी उक्त व्यवसाय छाडेर काठमाडौँबाट गाउँ फर्किएका हुन् ।

यस्तै, लमही नगरपालिका–६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन् ।

Tags :