१० कार्तिक २०८१, शनिबार 1730001997
Banner

एसइईको नतिजा शुक्रबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको एसइईको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । एसइईको नतिजा सकभर बिहीबार सार्वजनिक गर्ने योजना भए पनि प्राविधिक कारण नतिजा प्रकाशन हुन नसके शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिने छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै उहाँले अर्को वर्षदेखि एसइईमा पनि नयाँ व्यवस्था लागू हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको छ, अब एसइईमा पनि नयाँ पाठ्यक्रम आउँछ, सोहीअनुसार नयाँ व्यवस्था लागू हुन्छ ।”

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी भएका थिए ।