काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्रीको भनाइ बंग्याए एकतर्फी रुपमा प्रचार गरिएको, र स्पष्टीकरणको मौकासमेत नदिई प्रचार गरेको आरोप लगाएको छ ।
प्रधानमन्त्री प्रचण्डाले सोमबार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक दिल्ली गएको बताएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर केही दिनयता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र राष्टियसभामा विरोध गर्दै आएको छ । साथै नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री सचिवालयले प्रेस नोट सार्वजनिक गरेको हो ।
माओवादी शान्ति प्रक्रियामा आएसँगै सरदार प्रितम सिंह र माओवादी प्रचण्डको भेटघाट तथा चिनजान भएको सो नोटमा उल्लेख छ ।
‘सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो,’ वक्तव्यमा भनिएको छ, ‘सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु निरर्थक र दुःखद् छ ।’