८ मंसिर २०८१, शनिबार 1732352094
Banner

प्रचण्ड दिल्लीको बिल्ली कि हामी नेपाली सिल्ली ?

प्रचण्डको पारिवारिक हो कि वारीपारी सम्बन्ध कायम गर्न प्रीतम सिंहले भूमिका खेलेको स्वयं प्रचण्ड, उनको पार्टी र सचिवालयले स्वीकारेको सुनियो र पढियो। प्रधानमन्त्री प्रचण्डको सचिवालयले भनेको छ, “सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् छ। संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उनको भनाइको आसयविपरीत एकपक्षीय ढंगले प्रचार–प्रसार गरिनु दुर्भाग्यपूर्ण छ।” भनेर विज्ञप्ति आएको छ।

हुन त नेपालमा जनयुद्धको नाममा ध्वंस मच्चाउन र नेपालमा नियन्त्रित अस्थिरता कायम गर्न र बढाउन पनि भारतकै प्रत्यक्ष अप्रत्यक्ष सहयोग भएको थियो भन्ने कुरो कतै लुकेको छैन्। रातो रङको प्रचण्ड पथबाट पहेलो रङको गेरूवस्त्र पथमा पुगेपछि प्रचण्डले पहिले देशको भूमि सट्टापट्टा गर्न सकिने कुरा भने त अहिले मलाई प्रधानमन्त्री बनाउन दिल्लीको सहयोग पाउन प्रीतम सिंह प्रयोग भएका थिए भन्दैछन्। प्रचण्डको अभिव्यक्तिलाई लिएर पत्रकार समा थापा लेख्छिन्, “सधैं झुट बोल्ने भनेर आलोचना खेपेका प्रधानमन्त्री पुष्पकमल दाहालले सम्भवत पहिलो पटक सत्य बोलेका छन्।”

प्रचण्डको पछिल्लो अभिव्यक्तिले विगतमा उनी कसरी प्रधानमन्त्री बन्नका लागि कसरी दिल्लीको आशिर्वाद खोजेका थिए भन्ने स्पष्ट पारेको छ। नेमकिपाका अध्यक्ष नारायणमान विच्छुकेले भने झैं प्रचण्ड भारतको ट्रोजन हर्स भएको भन्ने कुरा प्रचण्डको आफ्नै बोलीले प्रमाणित गरेको छ। “ भुलबश नै किन नहोस् नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो असली अनुहार आफ्नै मुखबाट व्यक्त गरेका छन्।” तर अहिले उनी प्रधानमन्त्री प्रचण्ड आफैले बोलेको कुरा बोलेको होइन भनेर स्पष्टीकरण दिदै हिंडेका छन्। तर उनको स्पष्टीकरणले काम गर्नेवाला छैन्। अब पनि नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाईराख्छ कि प्रधानमन्त्रीको भनाईलाई लिएर समर्थन फिर्ता गर्छ। प्रतिक्षाको विषय बनेको छ। तैपनि प्रधानमन्त्रीमा प्रचण्डलाई निरन्तरता दिएर नेपाली कांग्रेसले देशद्रोही बन्नेछैन् भन्ने आधार देखिएको छैन्।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर चार स ( सञ्चार, सञ्जाल, संसद र सडक ) बाट व्यापक प्रश्न उठेपछि विरोध र आलोचनाबाट जोगिन प्रचण्ड भन्दैछन्, “भ्रष्टाचारविरूद्ध सतिसाल झैं उभिएपछि भ्रष्टहरू तर्सिए, यो प्रक्रिया रोकिदैन्।” तर माओवादी केन्द्रका नेता आफ्नो नाम नखुलाउने सर्तमा कान्तिपुरलाई भनेका थिए, “प्रधानमन्त्रीले कतिबेला के बोल्ने भनेर तयारी गर्नुपर्थ्यो। यसो हुन नसक्नु दुःखद हो।” कान्तिपुर लेख्छ, “देशका प्रधानमन्त्रीका भनाई मान्ने हो भने प्रधानमन्त्री बन्न जनताको घरदैलो होइन, दिल्ली धाउनु पर्छ।”

प्रधानमन्त्री प्रचण्डका लागि यतिखेर आफैले बोलेको कुरा गलपासो बन्दैछ। तर परिणाम कस्तो आउँछ, यसै भन्न सकिन्न किनभने उनमा भारतको आशिर्वाद अझै कायमै छ। त्यसैले नेपाली कांग्रेसले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण बोलीलाई लिएर केही बोलेको छैन्। तर एउटा कुरा पक्का के भयो भने “कथित जनयुद्धताका एम्बुस थापेर सुरक्षाकर्मी र राज्यलाई अप्ठ्यारो पार्ने प्रचण्ड यतिबेला आफ्नो बोलीको एम्बुसमा आफै परेका छन्। अब यो एम्बुसबाट कसरी पार पाउँछन् ? नेपाली कांग्रेस एम्बुस हटाउनतिर लाग्छ कि आफै त्यो एम्बुसमा रमाउँछ ?” प्रश्नहरू उठेका छन्। यसले एउटा कुरा भने पक्का भएको छ, प्रचण्ड दिल्लीको बिल्ली बनिसकेका रहेछन् तर हामी नेपाली जनताभने उनलाई चिन्न नसकेर सिल्ली बनेका रहेछौं। अन्यथा यस्ता खराब पात्रलाई बहिष्कार गर्ने थियौं।

राजनीतिमा क्रियाशील पात्रले मात्र होइन जोसुकैले भएतापनि सधैं देश र जनताको पक्षमा क्रियाशील भइरहनु पर्छ। किनभने व्यक्तिभन्दा पार्टी अनि पार्टीभन्दा देश माथि राखेर वैचारिक आधारमा राजनीति गरिनुपर्छ। आफ्नो व्यक्तिगत स्वार्थ र ईच्छा पूरा गर्न राष्ट्रिय स्वार्थ कमजोर बनाउने गरी राजनीति गर्छौं भने त्यो राजनीति होइन। जुन विगतदेखि प्रचण्डले गर्दै आएका रहेछन्। तर हामीले उनलाई चिन्न सकेका रहेनछौं। अब पनि प्रचण्डलाई शंकाको लाभ दिएर प्रधानमन्त्रीमा निरन्तरता दिनु भनेको राष्ट्रघात हुनेछ। यो कुरो नेपाली कांग्रेसका वृद्ध सभापति र युवा महामन्त्रीहरूले बुझ्नुपर्छ भन्ने जनताको अपेक्षालाई नेपाली कांग्रेसले उपेक्षा गरेको छ।

यतिबेला हामीले नेपालको राजनीतिमा २०४६ सालपछिका मुख्य–मुख्य खलनायकहरूलाई चिन्न सक्नुपर्छ। नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वाभिमान कमजोर बनाएर नेपालमा नियन्त्रित अस्थिरता बढाउन गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, प्रचण्ड, वामदेव गौतम, ज्ञानेन्द्र शाह, माधव नेपाल र झलनाथ खनालहरूले कस्तो भूमिका खेलेका थिए र खेल्दैछन्, बुझ्नुपर्छ। अब पनि हामी नेपालीले सिल्ली बनेर कांग्रेसको नवउदारवाद, प्रचण्डको उपयोगितावाद र रवी लामिछानेको अराजक र स्वछन्द लोकप्रियताादलाई चिन्न सकेनौं भने आज त हामी सिल्लीमात्र हुनेछौं, भोलि भारतीयहरूको दास बन्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले आज राजनीतिमा क्रियाशील खराब पात्र र प्रवृत्तिलाई चिनेर समयमै बहिष्कार गर्न सकिएन भने भोलि नेपालको स्वतन्त्र अस्तित्व संकटमा पनि पर्न सक्छ भन्ने सत्य बुझ्ने बुझाउने क्षमता हामीले देखाउन सक्नुपर्छ।