काठमाडौं । काठमाडौं महानगरपालिका अखिल नेपाल महिला संघ वडा नम्बर २३ कमिटीले एसईई पास विद्यार्थीलाई सम्मान गरेको छ ।
अखिल नेपाल महिला संघ वडा कमिटीले आइतबार एक कार्यक्रमबीच एसइई २०७९ पास हुने विद्यार्थीलाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेश पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र काठमाडौं महानगरका पूर्वमेयर विद्यासुुन्दर शाक्यको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री शाक्यले पछिल्लो समय पढाइ नसकी विदेश जाने प्रचलन बढेको बताउँदै कम्तीमा स्नातकसम्मको पढाइ पूरा गर्न आग्रह गरिन् ।
यस्तै, पछिल्लो समय मोबाइललगायत प्रविधिको तीव्रतर वृद्धि भइरहको बताउँदै त्यसबाट हुने विकृतिजन्य कुराबाट बच्न आग्रह गरिन् ।
उनले नेपाली चेलीलाई गर्लफ्रेण्डको रुपमा भारत लगेर बेपत्ता पारेको घटना सुनाएकी थिइन् । शिक्षाले आफ्नो धर्म संस्कृति पनि संरक्षण र सम्बद्र्धन गर्न सक्नुपर्ने उनको भनाइ छ ।
२००४ सालमा आदर्श महिला संघको स्थापना भएको भन्दै उनले नेपाल अखिल महिला संघको स्थापना, साहनादेवी प्रधान, मंगलादेवीलगायतलाई स्मरण गरिन् ।
नेपालको राजनीतिक परिवर्तनमा महिलाको महत्वपूर्ण योगदान रहेको बताउँदै राणाकाल, पञ्चायतजस्ता निरंकूश शासनको अन्त्यमा महिलाको माहत्वपूर्ण योगदान गरेको बताइन् ।
२०४६ सालको परिवर्तन र गणतन्त्र ल्याउन र संविधान लेखनमा महिलाको महत्वपूर्ण भूमिका रहेको उनले बताइन् ।
तर, अझै पनि समाजमा पुरुष र महिला समन हुन नसकेको बताउँदै राज्यले पनि महिला अधिकारलाई ३३ प्रतिशतमा मात्रै सीमित राखेको बताइन् ।
यस्तै, काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा छात्रवृत्ति वितरणका लागि सम्पूर्ण अधिकार वडालाई नै दिए पनि अहिले सो अधिकार महानगरमा पुर्याएको बताए ।
उनले भने, ‘मेरो कार्यकालमा छात्रवृत्ति वितरणको सम्पूर्ण अधिकार वडालाई नै दिइएको थियो । तर, अहिले सो अधिकार कटौती गरेर सिफारिस गर्ने मात्रै अधिकार दिइएको रहेछ ।’
यसो गर्दा अधिकारको सही रुपले सदुपयोग नहुने उनले बताए ।
महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले रियल लाइफ र रिल लाइफबीच भिन्नता रहेको बताएका छन् ।
अहिले विज्ञापन र समाचारबीचको फरक छुट्याउन गाह्रो भएको उनले बताए ।
‘अहिले हातहातमा मोबाइल छ । विज्ञापन र समाचार छुट्याउन गाह्रो छ । कुन सत्य हो कुन असत्य हो । यस्तो अवस्थामा आफैँ चनाखो हुनुपर्छ । यदि यसो हुन सकेन भने आफैँ धोका खाइन्छ,’ उनले भने,‘आजकाल सामाजिक सञ्जालको जमाना छ । आजभोलि त टिकटकमा पनि विज्ञापन आउँछ । जसका फ्लोअर्स बढी छन् उसैलाई पैसा दिएर विज्ञापन गराइन्छ ।’
धेरै विज्ञापन र खर्च गर्दैमा कुनै पनि सामान राम्रो नहुने बताउँदै उनले एसइई दिएर भर्नाका लागि कलेज खोजीमा रहेका विद्यार्थीलाई धेरै हल्लाको पछि नलागी कलेज रोज्न आग्रह गरे ।
उनले भने, ‘कुनै कलेजसँग पैसा छ । उसले धेरै पैसा खर्च गर्छ । तर, कुनैकुनै कलेज यति राम्रा छन् । तर, ऊसँग विज्ञापन गर्ने पैसा छैन । तसर्थ विज्ञापन गर्ने कलेजको पछाडि मात्रै नदगुर्नुस् । विज्ञापन गर्दैमा कलेज राम्रो नहुने र विज्ञापन नगर्दैमा कलेज राम्रो नहुने भन्ने हुँदैन ।’