२६ मंसिर २०८१, बुधबार 1733954056
Banner

प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक, चैत्र १९ मा मोदीसँग भेट्ने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नु भएको हो ।  प्रधानमन्त्री देउवासँगै भ्रमणमा उहाँकी पत्नी डा. आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणको लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नु हुने छ । पाँचौं पटक प्रधानमन्त्री हुनु भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उहाँले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुने छ ।

भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने छन् । प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।