११ कार्तिक २०८१, आइतबार 1730081186
Banner

केन्द्रीय समिति बैठक : खाँणको बचाउ गरेर के सन्देश दिन चाहन्छ कांग्रेस ?

काठमाडौं । १४औं महाधिवेशनपछि बसेको नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिको बैठक जारी छ । साउन २ गते मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकको चौथो दिनसम्म आइपुग्दा केन्द्रीय सदस्य र प्रदेश सभापति गरि ११४ जनाले धारणा राखिसकेका छन् । आइतबार पनि बैठक जारी रहने छ ।

बैठकको पहिलो दिनमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने र पार्टीको आगामी कार्यदिशा र योजना निर्माणका गर्न भनिएको केन्द्रीय समिति बैठक अहिले मुलत सभापति र महामन्त्री को बलियो भन्ने प्रमाणित गर्ने जस्तो देखिएको छ । थापाले प्रस्तुत गरेको विषयमा नेताहरूले गहन रूपमा बहस गर्ने भन्दा पनि महामन्त्री थापाले दिएको सार्वजनिक अभिव्यक्तीको विरोध भइरहेको छ । उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत आलोचना भइरहेको छ ।

तर, केन्द्रीय सदस्यहरूले थापाका गुटको नेतृत्व गरिरहेका डा.शेखर कोइरालाको भने विरोध गरेका छैनन् । सभापति शेबहादुर देउवाविरुद्ध खरो सार्वजनिक टिप्पणी गर्ने थापाविरुद्ध अहिले केन्द्रीय सदस्य आक्रोसित छन् । सबै केन्द्रीय सदस्य गाउँ जाउँ भन्ने उनले प्रस्तावको पनि आलोचना बढी भइरहेको छ ।

थापा समूहले नक्कली भुटाणी शरणानार्थी प्रकरणमा प्रक्राउ परेका नेता बालकृष्ण खाँणको बारेमा गरेको क्रियाकलापको विरोध भइरहेको छ । खाँण प्रक्राउ परेलगतै थापाको टोलीले गृहमन्त्री नाराणकाजी श्रेष्ठलाई भेटेर बधाई दिएको विषय मुख्य आलोचना भइरहेको छ ।

२७ वैशाखमा खाँण पक्राउ परेकै दिन केन्द्रीय सदस्य मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन गृहमन्त्रीलाई उनीहरूले आग्रह गरेका थिए । गृहमन्त्री श्रेष्ठलाई भेटेको मुद्दालाई देउवा पक्षकाले विशेष गरि उचालेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकको ४औं दिनसम्म आइपुग्दा पार्टी कस्तो बनाउने वा आगामी कार्यदिशा के हुने भन्ने भन्दा सभापति पक्ष र विपक्षको नेताहरूले एक अर्कालाई आचालोचना गरिरहेका छन् । उनीहरूको भनाईले केन्द्रीय समितिले भ्रष्टाचारी, गैरकानुनी काम गर्ने सबैलाई संरक्षण गर्नुपर्छ । सरकारले कारबाही गरे त्यसको जमेर प्रतिवाद गर्नुपर्छ भन्ने सन्देश बुझिन्छ ।

पूर्वगृहमन्त्री खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको प्रकरणलाई देउवा पक्ष सकभर केन्द्रीय समितिमा प्रवेश गराउन चाहदैन थिए । संस्थापनइतरबाट खाँणको विषयमा बोल्ने संकेत पाएसँगै देउवा पक्षका नेताहरू उनीहरुको विरुद्धमा उत्रे । उनीहरुले खाँणलाई बचाउ गर्ने क्रममा संस्थापनइतरका नेताहरूमाथि खनिरहका छन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेता गोपालमान श्रेष्ठ, इश्वरी न्यौपाने, जीतजंग बस्नेत, राधा घले, लक्ष्मी खतिवडा लगायतले पार्टी नेताहरू गृहमन्त्रीलाई भेटेको प्रति आक्रोश पोखे । अदालतमा पुगेको विषयलाई पार्टीमा छलफलको विषय बनाउन नहुने संस्थापन पक्षको तर्क छ ।

केन्द्रीय सदस्य श्रेष्ठले खाँणलाई पुर्पक्षका लागि थुनामा पुर्‍यउन रोकिन सक्ने अवस्था रहेर पनि हुन नसकेको बताए । ‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला ? किन रोकिएन ?’ श्रेष्ठले केन्द्रीय समिति बैठकमा प्रश्न गरे ।

खाँणलाई कांग्रेसले निलम्बन नगरेको विषय नागरिक तहमा उठिरहेको विषय उठाउन गर्ने एक्लो सदस्य अजयबाबु शिवाकोटी मात्र भएका छन् । उनी महामन्त्री गगन थापा निकट सदस्य हुन । शिवाकोटीले कांग्रेसले खाँण वा सरकारमध्ये एक रोज्नुपर्ने बताए । ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्‍यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे ।

तर, शिवाकोटीको प्रश्नलाई काउन्टर गर्दै अर्का सदस्य मीन विश्वकर्माले पार्टीले नै दोषी र निर्दोष करार गर्ने भए अदालत किन चाहियो भन्दै प्रतिप्रश्न गरे । विश्वकर्मा देउवाका विश्वासपात्रका रुपमा परिचित छन् ।

उनले थपे, ‘पक्ष विपक्षमा छलफल कांग्रेसले गर्ने हो भने अदालत किन चाहियो ? यही कार्यसमितिले गर्छ, भने वकिल पनि राख्न भएन नि,’ विश्वकर्माले भने, ‘वकिलले वकालत गर्न नि भएन । अदालतले दोषी हो होइन भनि प्रमाणित नगर्दासम्म सर्वोच्च अदालत हो, दोषी अहिले नै ठहर गर्ने ?’

सभापति देउवाले बैठक राख्न नसकेको, विधि र पद्धति बाहिरबाट पार्टी चलाएको, पार्टीलाई आफ्नो निजी कम्पनीको रूपमा विकास गरेको भन्दै आरोप लगाउनेहरू यो बैठकमा खुम्चिएका छन् । संस्थापनइतर समुह केन्द्रीय समितिमा कमजोर हुँदा देउवाको शक्तिशाली बन्दै गएको छ ।

सार्वजनिक रूपमा पार्टीका पदाधिकारीहरूबाटै आलोचित देउवाले केन्द्रीय समितिमा आफ्नो शक्ति देखाएका छन् । आफू कमजोर छैन भन्ने सावित गरेका देउवामाथि अब कांग्रेस के चाहन्छ ? यो केन्द्रीय समितिबाट आम रूपमा कांग्रेस के सन्देश दिन चाहन्छ ? भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

आफू बजबुँद बन्न केन्द्रीय सदस्यलाई खाँणको पक्षमा खरो उतारेका देउवामाथि भ्रष्टाचार, अनियमितिता, तस्करी, घुसखोरी तथा अन्य खालाको अपराधिक विषयमा कांग्रेसको व्यवहार र विचार के हो भन्ने आम रूपमा प्रश्न खडा भएको छ ।