११ कार्तिक २०८१, आइतबार 1730023793
Banner

अविरल वर्षाले जनजीवन कष्टकर, ठाउँ ठाउँमा बाढी र पहिरो जादा सडक अबरुद्ध

काठमाडौं । काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यसैबीच काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहान ६ः०० बजे काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । काठमाडौँमा आज बिहानैदेखि वर्षा जारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशमा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेस, बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपाउन महाशाखाले अनुरोध गरिएको छ ।

त्यस्तै अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने जानकारी दिएको उहाँको भनाइ छ ।

“वर्षा ठूलो भयो, राति पहिरो गएपछि दुईवटै सडक अवरुद्ध छन्, सडक खुलाउने प्रयास भएको छ, मध्यपहाडी लोकमार्ग केहीबेरमा सञ्चालनमा आउने देखिएको छ भने करिडोर खुलाउन केही समय लाग्छ, निकै ठूलो पहिरो गएको हुँदा पन्छाउन ठूलो मेसिन चाहिन्छ”, उहाँले भन्नुभयो, “अहिले वर्षा कम भएको छ, मेसिनले काम सुरु ग¥यो भने करिडोर दिउँसोसम्म खुल्ला ।”

करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन् । बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।

त्यसैगरि घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो ।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।