११ कार्तिक २०८१, आइतबार 1730031141
Banner

ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन, अनुसन्धानमा सहयोग गर्छु : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

युरोप भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा छानबिन हुनुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने बताएका हुन् । ‘ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन होस्। मेरो तर्फबाट सहयोगी भूमिका हुनेछ,’ उनले भने। अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको दावी गर्दै भने, ‘बिराएको छैन। कुनै बदमासी पनि गरेको छैन। लेनदेन गरेको छैन। आत्तिएको छैन, चित्त दुखेको छ। केही गरौंला भन्यो अब के पो होला भन्ने स्थिति भयो।’ उनले भने

उनले सर्वोच्च अदालतको आदेश आउनु र आफ्नो युरोप भ्रमण तय हुनु संयोग मात्र भएको स्पष्ट पारे। उनले आफू प्रधानमन्त्री हुँदा कतिपय जग्गासम्बन्धी निर्णय भएको तर भ्रष्टाचार नगरेको जिकिर समेत गरे । ‘ललिता निवास जग्गा प्रकरणमा छानबिन प्रक्रिया अगाड बढाउनु भनेर सर्वोच्च अदालतबाट निर्णय भएको रहेछ। युरो भ्रणमण पनि त्यही बेला निश्चित भयो। प्रधानमन्त्री हुँदाखेरी कतिपय जग्गासम्बन्धी निर्णयहरू भएका थिए। त्यसैमा जोडेर मेरो बदनाम गर्न खोजियो, माधव नेपाल भाग्यो भनेर चर्चा पनि गरियो। राजाले गिरफ्तार गर्दाखेरी त म नभाग्ने मान्छे । अपराध नगरेको ,भ्रष्टाचार नगरेको म किन भाग्थे। बरु भ्रमण छोट्याएर आएँ।’ उनले भने ।

सबै विषयको कानुनी प्रक्रिया हुने र ललिता निवास जग्गा प्रकरणमा पनि कानुनले प्रष्ट्याउने नेपालको भनाई छ ।