काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि सुरू हुँदैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्न साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनको लागि प्रदेशका १२ वटा जिल्लाका १०९ स्थानीय तहबाट गरी १००४ जना प्रतिनिधि छानिएर बुटवल आइपुगेका छन् ।
उद्घाटन शत्रमा पार्टीका उपाध्यक्षहरू विष्णु पौडेल, युवराज ज्ञवाली, पौडेल, महासचिव शंकर पोख्रेल,उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्याल लगायतका नेताहरू बुटवल आउने कार्यक्रम छ ।
सम्मेलनमा रुपन्देहीबाट, १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीवाट ५२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
एमालेले हालको करिब छ सय जना रहेको प्रदेश कमिटीलाई संक्रमणकालीन भन्दै यो संख्यालाई घटाएर चुस्त बनाउने भएको छ । अब आउने अधिवेशनले २०५ जनाको प्रदेश कमिटी चयन गर्नेछ ।
यसअघिको कमिटीमा केन्द्रबाटै बनेको कमिटीमा ६०१ जना छन् । अधिवेशन दुई दिनसम्म चल्नेछ ।