२७ बैशाख २०८३, आइतबार 1778428336
Banner

श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरूको बैठक बस्दै

काठमाडौं : श्रम गन्तव्य सुरक्षित बनाउने र मानव तस्करी रोक्ने पहलस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ले श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्।

प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली दतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई काठमाडौं बोलाई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन्।बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गर्नेछन्।

बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार बिहान ९ बजे शुरु हुने उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकमा श्रम आप्रवासनका सवाल र कुटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुने सचिवालयले जनाएको छ। यो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुनेछन्।