प्रगति भनेको गति मात्र होइन, बरु उद्देश्यपूर्ण र सुविचारित भएर सही दिशामा अघि बढ्नु हो किनभने प्रगतिका लागि गतिभन्दा दिशा महत्त्वपूर्ण हुन्छ।
हिजोआज हामी विचार, उद्देश्य र गन्तव्यबिनाको दिशाहीन गतिमा रमाएर समाजलाई स्वछन्द र अराजक बनाउँदै दुर्घटनामा पार्ने विचारहीन घण्टी राजनीतिमा रमाउँदैछौं। वास्तवमा मतिबिनाको गति र विचारबिनाको राजनीति अनि नीतिबिनाको नेतृत्वले अन्ततः देशलाई पुर्याउने दुर्घटनामा नै हो। तसर्थ गतिमा मति, राजनीतिमा विचार र नेतृत्वमा नीति खोजौं। फेरि राजनीतिक दल र नेतृत्वको मति, विचार र नीतिको चरित्र पनि बुझौं अन्यथा त्यस्तो राजनीतिे र राजनीतिक नेतृत्वले देशमा नियन्त्रित अस्थिरता बढाउन सहयोगीको भूमिका खेल्ने मौका पाइरहन्छ।”
आज समाज गतिशील त बनेको छ, तर समाजले लिएको बाटो ठीक छैन्। किनभने हामी ठीक बाटोमा गतिसहित हिंडिरहेका छैनौं। अहिले गति एकातिर बाटो अर्कातिर भएको अवस्था छ। जसले गर्दा समाजमात्र होईन, राजनीतिक दलहरू पनि वैचारिक राजनीतिक बाटोमा गतिशील हुन सकेका छैनन्। त्यसैले यतिबेला समाजको गति र बाटो ठीक बनाउन कस्तो शिक्षा व्यवस्था र नीति चाहिन्छ भन्ने प्रश्नमा केन्द्रीत भएर खुला बहस गर्नुपर्ने भएको छ।
राजनैतिक व्यवस्थाले खोजेको प्रगति र देशको अवस्थामा कुनै तालमेल देखिदैन्। जसका कारणले जनअसन्तुष्टी र जनतामा वितृष्णा बढ्दो छ। यही असन्तुष्टी र वितृष्णालाई प्रयोग गरेर राजनीति गर्नेहरू पनि देखिएका छन्। यसले हिजोभन्दा आज समाजमा स्वछन्दता र अराजकता पनि बढाउँदैछ। तर परिवर्तनले खोजेको देशको अवस्था त्यस्तो थिएन, परिवर्तनले त देशको समृद्धि र जनता सुखी बन्ने परिपाटीको परिकल्पना गरेको थियो। नेपालमा राजनीतिक व्यवस्था फेरिएपछि देशको अवस्था नफेरिनुका धेरै कारणहरू छन्। पहिलो कारण खराब शिक्षा र अर्थ व्यवस्था नै हो भने दोस्रो कारण दान अनुदानमुखी विकास नीति। हाम्रो शिक्षाले हामीलाई विदेशिएर उतै पलायन हुन सिकायो भने अर्थ नीतिले नागरिक निर्यात गरेर वस्तु आयात गर्न प्रोत्साहित गर्यो र दान अनुदानले देशमा परनिर्भरता बढायो।
दान अनुदानले देशमा परनिर्भरता मात्र बढेको छैन्, स्वछन्दता र अराजकतासँगै सांस्कृतिक तथा धार्मिक अतिक्रमण पनि बढेको छ। विभिन्न कलेवरमा अनुदानहरू आउने गरेका छन्। हामीभने ति अनुदानका प्रकृतिका बारेमा केही बोल्दैनौं, तर एमसीसीलाई लिएर विरोधमा देखिन्छौं। जबकी एमसीसीभन्दा घातक अनुदानहरूमा रमाईरहेका छौं। यस्तो किन र के का लागि भइरहेको छरु उत्तर खोज्न सक्रिय बन्नुपर्ने भएको छ। पछिल्लो समय समाजमा देखिएको स्वछदता, उद्दण्डता र अराजकताको अन्त्य र समृद्ध देश सुखी जनता अनि राजनैतिक व्यवस्थाले खोजेको देशको अवस्था राम्रो बनाउन समानान्तर रूपमा शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन गर्नुपर्छ। अन्यथा हामी पछाडि परिरहन्छौं।
हामीले बुझ्नु र बुझाउनु पर्छ, शिक्षा बिग्रिएर देशको अवस्था बिग्रिएको हो। यसका साथै देशको अवस्था बिग्रनुमा आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचना र अभ्यासको उत्तिकै भूमिका रहेको छ। त्यसैले शिक्षाको चरित्र, अर्थको नीति, प्रशासनको नियत, न्यायलयको विवेक र समाजको अभ्यासमा भएका खराबीहरूलाई हटाएर शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन अत्यावश्यक भएको छ। अनि सञ्चार माध्यम र सञ्चारकर्मीहरूले राज्यको चौथो अंगका रूपमा स्वतन्त्र र निष्पक्ष भएर भूमिका निर्वाह गर्न सक्नुपर्छ।
यतिबेला हाम्रा सामु एकातिर बिग्रेको राजनीति र नेतृत्वलाई ठीक बाटोमा ल्याउनु छ भने अर्कातिर देशको अवस्थामा सकारात्मक परिवर्तनको अनुभूति हुनेगरी राजनीतिलाई प्रगतिशील वैचारिक जगमा अघि बढाउनु पर्नेछ। यो हाम्रा लागि चुनौती भएतापनि यसलाई सहज रूपमा अवसरमा समानान्तर तरिकाबाट बदल्न शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन गर्नुपर्छ। अन्यथा धरानको जस्तो साम्प्रदायिक द्वन्द्वको झिल्कोले देशमा डढेलोको रूप लिन सक्छ।
ूहिजो लौरो बोकेर स्वतन्त्र भन्दै स्थानीय चुनावमा जितेका पात्र हुन कि संघको चुनावमा घण्टी बजाउँदै नयाँ भनेर जितेकाहरू दुवै नेपालमा राजतन्त्रात्मक व्यवस्था फर्काउने वातावरण बनाउने प्रयासमा छन्। त्यही रणनीतिअनुरूप धरानमा धार्मिक द्वन्द्वको प्रयास भएको थियो, धरानको द्वन्द्व त्यसकै परिणति हो।” तर हाम्रो चेतनाले त्यो रणनीति अझै चिन्न सकेको छैन्। हामीले ठूलो स्वरमा भन्नुपर्थ्यो, लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र होइन।” जब राजनीतिमा विचार र नीति अनि नेतृत्वमा नैतिकता र चरित्रको अभाव देखिन थाल्दछ, तब अराजकता र स्वछन्दताले देशले धरानमा जस्तो जातीय अतिवाद र धार्मिक उग्रताबाट पीडित हुनुपर्ने अवस्थाको विकास हुन्छ।
धरानको जातीय र धार्मिक द्वन्द्वलाई लिएर ऋषिराम शर्माले व्यांग्यात्मक ढंगले सामाजिक सञ्जालमा लेखेका छन्।
उहिले हजारौंका खून पचाए
अहिले करोडौंको सुन पचाए
सुन खै भनि सब उठ्लान भनेर
धरानमा निरिह गोरूको डिस्कोर्स मच्चाए
त्यसैले हामीले स्पष्ट रूपमा बुझ्नुपर्छ, विचार र नीतिहीन राजनीति अनि चरित्र र नैतिकहीन अवसरवादी नेतृत्व देशमा सुशासनसहित समृद्धि ल्याउने बाटोमा व्यवधान बनेर आउँछ। २०५२ फागुनदेखि प्रचण्ड अनि २०७९ असारदेखि रवी लामिछाने त्यो व्यवधान बनेर आएका छन्। जसको मनोबल बढाउने काम शेरबहादुर देउवाहरूले गरिरहेका छन्। यो यथार्थ जनतालाई बुझाउन जति ढिलो हुन्छ उति देशको प्रगति पथमा व्यवधानहरू आईरहन्छन् र देशको अवस्थामा परिवर्तन ल्याउन सकिदैन्।
देशभित्र भएको विविधता हाम्रो राष्ट्रिय पुंजी हो। त्यो पुंजीको जगमा हामीले समृद्धि खोज्नुपर्छ, जुन दिगो पनि हुन्छ। त्यसैले विविधताभित्र एकता र सहकार्य गर्दै सम्मानसहित सहअस्तित्व स्वीकारेर अघि बढ्नुपर्छ। आयातित मुद्दा र नाराको जगमा गरिने राजनीतिले द्वन्द्व र विनास मात्र निम्त्याउँछ। फेरि पनि भन्छु, मति बिनाको गति र विचार बिनाको राजनीति अनि नीति बिनाको नेतृत्वले अन्ततः देशलाई नै दुर्घटनामा पुर्याउँछ।” तसर्थ प्रगतिका गति होइन, मति हेरौं, उद्देश्य र दिशासहितको गन्तव्य रोजौं ।