काठमाडौँ – नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट भोलि उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले प्रतिनिधि चयनको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउनुभयो । अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् ।
अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उहाँले बताउनुभयो । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने उहाँको भनाई छ । यस्तै जनजाति, पिछडिएको वर्ग, दलितहरूको सहभागितामा कमिटीलाई समावेशी बनाइने एमाले बागमतीले जनाएको छ ।
अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदैछ । यसमा स्वभाविकरूपमा चासो र आकर्षण हुन्छ । प्रतिनिधिहरू आइसकेपछि उहाँहरुको भावनाअनुसार हामी अघि बढ्छौँ । तर बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ्य प्रतिस्पर्धा हामीमा छैन । पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन । यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो । मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारीरूपमा चल्ने भन्ने नै हो ।”
यस्तै एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले अधिवेशनको तयारी पूरा भएको बताउनुभयो । उहाँले अध्यक्षका लागि नेताहरुले आकांक्षा देखाएपनि नयाँ नेतृत्व सर्वसहमति रुपमा चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्वका लागि धेरै नेताहरुले आकांक्षा देखाउनुभएको छ । तर यहाँ सर्वसहमतिले नै नेतृत्व चयन हुन्छ । अहिले अध्यक्षमा आकांक्षी देखाउनु स्वभाविक हो ।’
१ हजार १३८ प्रतिनिधि छानिए
अधिवेशनमा १ हजार १३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । सहसचिव बर्तौलाका अनुसार महाधिवेशनमा सहभागी हुने १ हजार १३८ प्रतिनिधि छनौट भइसकेका छन् । अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक पालिकालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको छ ।
अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । जहाँबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । यस्तै काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् भने प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत भएका छन् ।
अधिवेशनमा ४० वर्षमुनिका युवा प्रतिनिधिको संख्या एक सय २० रहेको छ भने महिलाको संख्या तीन सय ५० रहेको छ । बाँकी पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिएको छ । एमालेले सबै प्रदेश कमिटीमा युवाको सहभागितालाई प्राथमिकतामा राखेको छ ।
अध्यक्षमा आकांक्षी
एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा चारजना नेताले अध्यक्षमा आकांक्षी देखाउनुभएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि डेढ दर्जनले आकांक्षा राखेर आन्तरिक लबिङ सुरु गरेका छन् ।
बगमतीको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले लबिङ सुरु गर्नुभएको हो ।
अध्यक्षका दाबेदारमध्ये काठमाडौँबाट प्रतिनिधि बनेका बागमतीका पूर्वसभामुख श्रेष्ठ पूर्वपोलिटब्युरो सदस्य हुनुहुन्छ । नुवाकोटका पाण्डे तदर्थ कमिटीको नेतृत्व गरेकाले पुनः निर्वाचित अध्यक्षका लागि आकांक्षा राख्नुभएको छ । केन्द्रीय सदस्यद्वय ढुंगेल रामेछाप र दाहाल गृहजिल्ला मकवानपुरबाट प्रतिनिधि छनोट भएर आउनुभएको हो । अध्यक्ष बन्नका लागि आकांक्षीहरू पार्टी केन्द्रसँगको भेटघाटमा तीव्र दौडधुपमा गरिरहनुभएको छ ।
८० लाख खर्च गरिने
एमाले बागमती प्रदेश अधिवेशनमा ८० लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।
उपसचिव बर्तौलाका अनुसार अधिवेशन अन्तर्गत मञ्च व्यवस्थापन, आवास, अतिथि सत्कार, साउन्ड सिस्टम, प्रचार प्रसार लगायतका काममा सो रकम खर्च हुनेछ ।
उहाँका अनुसार अधिवेशनको खर्चको व्यवस्थापन प्रतिनिधि शुल्क, आर्थिक सहायता तथा सहयोग र विभिन्न लाभको पदमा रहेका व्यक्तिहरुबाट संकन गरिने छ ।
यस्तै प्रतिनिधिहरूलाई आवासको सुविधा नरहेको र आ–आफ्नो व्यवस्था गर्न सूचना गरिएको छ ।
भोलि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको अध्यक्ष ओलीले रोबोटको माध्यमबाट उद्घाटन गर्नुहुनेछ । नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको जनाइएको छ ।