“एउटा गलत कदमले हाम्रा सपनाहरू नष्ट गर्ने र राष्ट्रिय आकांक्षालाई कमजोर बनाउने छ।”
हाम्रो सपना अर्थात अपेक्षाहरू पूरा गर्न राष्ट्रिय आकांक्षा र सङ्कल्पहरू पनि पूरा हुनुपर्छ अन्यथा हामी आजभन्दा भोलि कमजोर र परनिर्भर हुनेछौं। त्यसैले हिजोका कमजोरी र खराबीहरूबाट सिकेर आज निर्णय गर्न सक्नुपर्छ अनि बुद्धिमानीपूर्वक नीति र कार्यक्रम बनाउने र त्यसको कार्यान्वयन गर्ने संरचना तयार र पद्धति स्थापित गर्नुपर्छ। यसका लागि जनताले आफ्ना अपेक्षानुसार सहयोगी बन्ने, योगदान गर्ने र राज्यले आफ्ना क्षमतानुसार गतिसहित समयको माग र चापलाई चिनेर क्रियाशील हुन सक्नुपर्छ। यो नै आजको अनिवार्य आवश्यकता हो।
नागरिकको गुणस्तरीय जीवन र राष्ट्रको राम्रो र उज्ज्वल भविष्यका लागि सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गरिनुपर्छ। हामीले बुझ्नुपर्छ, हाम्रा समस्याहरूको समाधानको सर्वोत्तम माध्यम गुणस्तरीय शिक्षा, असल प्रशासन, न्यायमुखी न्यायलय, देशमुखी आर्थिक नीति र जनमुखी राजनीति अनि सुसंस्कृत र वैचारिक नागरिक र नेतृत्व नै हो। त्यसैले राजनैतिक र संवैधानिक व्यवस्थालाई मात्रै दोष दिएर पन्छिन नखोजौं।
हामीले यो यथार्थ र आवश्यकतालाई बुझ्न र बुझाउन सकिरहेका छैनौं। जसले गर्दा राज्यले लिएका नीति र कार्यक्रमहरूले देशको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन र जनतामा अब त केही हुन्छ भन्ने आसा जगाउन सकेको छैन्। त्यसमाथि कम्फर्टेबलवादी र लोकप्रियतावादीहरूको अघोषित मोर्चाबन्दी राजनीतिले राष्ट्रिय स्वार्थ कमजोर बनाउने ढंगले गतिविधि गर्दा राष्ट्रिय सङ्कल्प र आकांक्षा पूरा हुने परिस्थिति नै बन्न पाएन। अनि जनपेक्षाहरूको उपेक्षा पनि भइरह्यो।
यतिबेला कम्फर्टेबलवादीहरू राज्य सत्ताको दुरूपयोग गरेर राष्ट्रिय स्वार्थविपरीत गतिविधिहरू गर्दैछन् भने लोकप्रियतावादीहरू जनतालाई भ्रमित पार्दै भावनात्मक रूपमा भड्काएर नियन्त्रित अस्थिरता बढाउन सघाउँदै छन्। तर जनताले तिनका बेइमानीपूर्ण षडयन्त्र र अवसरवादलाई चिन्न सकिरहेका छैनन्। यस्तो अवस्थामा हामीले ति बेइमानीपूर्ण षडयन्त्र र अवसरवादको भण्डाफोर गर्दै जनतालाई उनीहरूको चेतना, विवेक र क्षमता देश अनि परिपूर्ण लोकतन्त्रको पक्षमा उपयोग गर्न सक्ने बनाउनु पर्नेछ। यो नै आजको मुख्य राजनीतिक कार्यभार भएको छ। यसका लागि सञ्चार माध्यम र सामाजिक सञ्जालहरूको सरकारात्मक र रचनात्मक उपयोग गर्दै सामाजिक सञ्जालमात्र सूचनाको श्रोत होइन भनेर पनि जनतालाई बुझाउनु पर्ने भएको छ।
त्यसो भए अब के गर्दा हामीले परिकल्पना गरेको देश बन्न सक्छ भन्ने प्रश्नमा केन्द्रीत भएर हामीले हाम्रा क्षमताहरू प्रयोग गर्नुपर्छ। त्यसैले सबभन्दा पहिला शिक्षा व्यवस्थाको समीक्षासहित नयाँ शिक्षा व्यवस्थाका विकासमा योगदान दिनुपर्छ। जुन गुणस्तरीय पनि हुनुपर्छ। शिक्षालाई गुणस्तरीय बनाउनका लागि यसका केही आधारभूत मापदण्ड तथा पक्षहरूको विशेष ख्याल गर्नुपर्छ, जुन निम्न प्रकारका छन्
विचारधारा र विश्व दृष्टिकोण
शिक्षा नीति र ऐन
पाठ्यक्रमको राष्ट्रिय प्रारूप
शिक्षकहरूको तयारी, छनौट र तालिम
भौतिक पूर्वाधार, सुविधा, व्यवस्थापन र सुरक्षा
मूल्याङ्कनको ढाँचा
समुदायको संलग्नता, योगदान र अपनत्व
राजीतिमा विचार, नीति र नैतिकता, घरपरिवार र समाजमा सम्बन्ध र सहकार्य, शिक्षामा दर्शन, भाषा, विधि र प्रविधि, विकासमा राज्यको नीति र लगानी अनि जनताको मनोविज्ञान र योगदान, देवालयमा विश्वास र समर्पण, न्यायलयमा न्याय र निष्पक्षताका साथै कार्यलय अर्थात प्रशासनमा सेवा मनोवृत्ति नहुँदा नेपालमा राजनैतिक तथा संवैधानिक स्थिरता कायम गरेर जनअपेक्षा र समयको मागअनुसार देशको अवस्था बदल्न वा तयार गर्न सकिएन।
त्यसैले विगतबाट सिकेर सबभन्दा पहिला शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै नयाँ पुस्तालाई नयाँ ढंगले प्रशिक्षित गरेर भोलिका लागि तयार गर्नुपर्छ। त्यसैले हामीले बुझ्नुपर्छ, मानव पुँजीको विकास र नयाँ पुस्तालाई नैतिक र चारित्रिक रूपमा बलियो बनाउन सकिएन भने नयाँ नेपाल बनाउन सकिदैन्। यसका लागि शिक्षालाई पुनः परिभाषित गर्न ढिला गर्नु हुँदैन्।
डिजिटल विश्वमा देशलाई अब्बल बनाउन र देखाउनका लागि “शिक्षामा प्रविधिको प्रयोग अन्तरिहित क्षमतालाई प्रस्फुटन गर्नका लागि प्रयोग गर्नुपर्छ जसरी शिक्षामा मातृभाषा लगायतका अन्य भाषाहरूको प्रयोग विद्यार्थीको बोध शक्ति बढाएर सिकाइको जग बलियो बनाउन र समुदायको पहिचान जोगाउन अनि त्यस समुदायमा निहित ज्ञान, विज्ञान, कला र सीपलाई उन्नत बनाउन गरिन्छ।” यसर्थ धरातलमा टेकेर हिंड्न नयाँ पुस्तालाई सिकाउनु पर्छ। अनिमात्र देशको राम्रो र भविष्य उज्ज्वल बनाउन सकिन्छ।