काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।
बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ । महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ ।
बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको संसद् सचिवालयले जनाएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा भइरहेको तयारीबारे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोमबार अपराह्न संयुक्त सदनको बैठक (प्रतिनिधिसभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका छन् । सभामुखले संसद सचिवालयका उच्च अधिकारीलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहान १० बजेसम्म साजसज्जालगायत सबै तयारी सकिने सचिवालयले बताएको छ ।