८ कार्तिक २०८१, बिहिबार 1729829690
Banner

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । 

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । 

यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो । 

नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् । 

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एकएक विकेट लिइन् । 

११४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । 

नेपालकी अश्मिना कर्माचार्यले चार, संगीता राईले तीन तथा पूजा महतो दुई विकेट लिइन् । 

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । 

नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसँग नौ विकेटले पराजित भएको थियो । 

महिला टि–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । 

तान्जानिया र हङकङले उपाधिका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसँग खेल्नेछ ।