९ कार्तिक २०८१, शुक्रबार 1729887254
Banner

युवा संघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौँ–काठमाडौँका दुई स्थानमा आज दुईवटा समूहका छुट्टाछुट्टै कार्यक्रम हुँदैछन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्दैछ भने दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको बल्खुमा प्रदर्शन हुँदैछ ।

विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रम स्थल पुग्ने दुवै पक्षको तयारी छ ।

प्रदर्शनको सुरक्षाका लागि उपत्यकामा प्रहरीले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ ।

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागू गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँबानेश्वरलगायत स्थानमा प्रदर्शन गर्न रोक लगाएपछि तीनकुने र बल्खुमा प्रदर्शन हुन लागेको हो ।