यतिबेला नेपालमा लोकतान्त्रिक गणतन्त्र ठीक कि राजतन्त्र भन्ने असान्दर्भिक प्रश्नमा चर्चा भइरहेको छ। अनि लोकतान्त्रिक गणतन्त्र प्रगतिशील कि राजतन्त्रात्मक व्यवस्था भन्ने मुद्दामा राजनीतिक विश्लेषकहरूको बौद्धिकता र दूरदर्शिताको परीक्षण हुँदैछ। त्यस्तै सञ्चार माध्यमहरू गणतन्त्र चाहन्छन् कि राजतन्त्र उनीहरूले उठाएका प्रश्नहरूबाट छुट्याउनु पर्छ। यसका लागि सञ्चार माध्यमले उठाएका प्रश्नहरू र राजनीतिक विश्लेषकहरूले दिएका उत्तरहरूको नियत बुझ्नुपर्छ। रूप पक्षमात्र हेरेर हामीले आज उठेका प्रश्नहरू र दिएका उत्तरहरूको सार बुझ्न र नियत जान्न सक्दैनौं।
अहिले गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने भाष्य स्थापित गर्न राजतन्त्रवादीहरू लोकतान्त्रिक अधिकारको उपयोग गरेर योजनाबद्ध रूपमा क्रियाशील भइरहेका छन्। यो अस्वभाविक पनि होइन किनभने आफ्नो तन्त्र फर्काउन प्रयास गर्नु उनीहरूको राजनीतिक अधिकार हो। तर आफूलाई गणतन्त्रको जननी ठान्ने पात्रहरू लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउने राजनीति गर्न छोडेर राजतन्त्र र राजावादीहरूको विरोधमा समय र सामार्थ्य खेर फालिरहेका छन्। गणतन्त्रवादीहरूको यही कमजोरीमा राजतन्त्रवादीहरू गणतन्त्र बेठीक देखाउन कोही स्वतन्त्र भन्दै लौरो देखाएर राजनीति गरिरहेका छन्, कोही चर्चको घण्टी बजाउँदै लोकप्रियतावादको भ्रम छरिरहेका छन् भने कोही पूर्व प्राविधिक राजा ज्ञानेन्द्र शाहलाई सडकमा प्रदर्शन गरिरहेका छन्।
गणतन्त्र कि राजतन्त्र भन्ने प्रश्न चर्चामा आउनुमा राजनीतिक दल र नेतृत्वको मात्र कमजोरी छैन्। यद्दपी यसको दोष दल र नेतृत्वलाई नै जान्छ किनभने उनीहरू मुख्य सरोकारवालाहरू हुन्। तर यसमा हामी जनताको पनि उत्तिकै कमजोरी छ किनभने हामीले हाम्रा प्रतिनिधि छान्दा ठीक निर्णय गर्न सकेनौं। हामीले शासन व्यवस्थाको चरित्रअनुरूप राज्य चलाउने विचार र सामर्थ्य भएको दल र नेतृत्वलाई चिन्न र रोज्न नसकेको संसदमा उपस्थित दलहरूको संख्याले प्रमाणित गरेको छ। क्रियाशील भएका दल र नेतृत्वहरूका बारेमा तुलनात्मक रूपमा कुन बढी राम्रो वा कुन कम खराब हो, हामीले छुट्याउन सक्नु पर्थ्यो। हामीले चुनावमा प्रभाव, दबाव, प्रलोभन र भ्रममा परेर मताधिकार प्रयोग गर्नु हुँदैन्थ्यो।
हामीले अपनाएको शासन व्यवस्था र गरिरहेको अभ्यास रूपमा उस्तै-उस्तै देखिएतापनि सारमा मिलेको छैन्। जसका कारणले अनपेक्षित रूपमा देशको अवस्था नकारात्मक बन्दैछ। त्यसमाथि कम्फर्टेबल सत्ता गठबन्धनले जसरी राज्य सत्ता सञ्चालन गर्दैछ, त्यसले जनतामा अस्वभाविक रूपमा वितृष्णा र असन्तुष्टी बढाउन सघाएको छ। जनतामा बढेको यही वितृष्णा र असन्तुष्टीलाई व्यवस्था विरोधीहरूले आफ्नो राजनैतिक लक्ष्य पूरा गर्ने आधार बनाउन खोजेका छन्। विचार र चरित्रहीन रवी लामिछाने र केही अराजक तथा स्वछन्द पात्रहरूको राजनीतिक चर्चा कम्फर्टेबल सत्ता गठबन्धनको सहउत्पादन हो। तर यसको दोष सबै राजनीतिक दलहरू माथि जबरजस्ती लगाउन खोजिदैछ। जबकि त्यो न्यायसँगत देखिदैन्।
अहिले नागरिक सर्वोच्चता होइन, वंशको सर्वोच्चता खोजेर राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरू ज्ञानेन्द्रको रोड शोमा रमाउँदैछन्, यसले अनपेक्षित रूपमा गणतन्त्र कि राजतन्त्र भन्ने प्रश्न जबरजस्त रूपमा बलियो बन्दैछ। त्यसैले यतिखेर गणतन्त्र पक्षधर शक्तिहरू बीच समझदारी र सहकार्यसहित ज्ञानेन्द्र ज्ञाहका गणतन्त्र विरोधी गतिविधिहरूमाथि निगरानी बढाउनु पर्छ। यदि ज्ञानेन्द्रले दल खोलेर चुनावी प्रतिस्पर्धामा आउन चाहेमा स्वागत पनि गर्नुपर्छ।
हिजोआज सामाजिक सञ्जालमा काठमाडौंका मेयर बालेन साह संघीयता खारेजको प्ले कार्डमा देखिएका छन्। केही समयपछि गणतन्त्र खारेज गर भन्ने प्ले कार्ड बोकेर राजतन्त्रातमक व्यवसथाको पक्षमा उभिने छन्। बालेनहरू लोकतान्त्रिक गणतन्त्र कमजोर बनाएर राजतन्त्र फर्काउने माहौल तयार गर्न खटाइएका पात्रहरू हुन, तर जनताले चिनेनन्। सार्वभौम नागरिकलाई रैती बनाउन खोज्ने पात्रहरूलाई विगतको निर्वाचनमा चिन्न नसक्नु हाम्रो कमजोरी थियो।
“शान्तिपूर्ण नागरिक आन्दोलनको जगमा लोकतान्त्रिक गणतन्त्र आएको हो। यसको रक्षा र जनताको अपेक्षाको सम्बोधन पनि नागरिकदेखि नेतृत्वको सुझबुझपूर्ण सहकार्य र गणतान्त्रिक राजनीतिक चेतना र चरित्रबाट मात्र सम्भव हुन्छ।” गणतन्त्र कि राजतन्त्र भन्ने सवालमा सूर्यराज आचार्य सामाजिक सञ्जालमा लेख्छन्, “सामाजिक रूपमा झल्याक झुलुक देखिएतापनि राजनैतिक रूपमा पूर्व राजा शान्त र चुपचाप छन्। आमजनता भने अलिकति आवेगमा छन्। चल्तीको राजनीतिलाई प्रश्न सोध्दैछन्, विकास, सुशासन, रोजगारी र समृद्धि खै ?
आस गरेका नेताको उत्तर आउँछः पूर्व राजा मूर्तिचोर हुन१ समाज भत्केको छ। राजनीति लयमा छैन्।” राजनीतिलाई लयविहिन बनाउने र सामाजिक संरचना भत्काउने प्रयासको मुख्य लक्ष्य नेपालमा नियन्त्रित अस्थिरता बढाएर कम्फर्टेबल सत्ताको आयु लम्ब्याउनु हो। अनि बाह्य स्वार्थमा निर्णय र सम्झौताहरू गराउनु हो।
हामीले बुझ्नुपर्छ, “राजनीतिमा विचारबिनाको योगदान र त्यागबिनाको फूर्ति धेरै समय टिक्दैन्। भलै सुरूआती चरणमा त्यसको चर्चा परिचर्चा किन नहोस्। यतिबेला नेपालको राजनीतिमा विचारभन्दा स्वछन्दता र अराजकताले चर्चा पाएको छ।” यो चर्चाले बालेन, रवी र दुर्गाहरूको फूर्ति अनि रवीन्द्रहरूको सामाजिक सञ्जालमा हल्ला बढाएको छ। अहिले यीनै फूर्ति र हल्लाहरूको साथ लागेर ज्ञानेन्द्र शाहले पूर्व राजाको हैसियत पनि गुमाउँदैछन्। नेपालमा राजतन्त्र त १९ जेठ २०५८ मा भएको दरबार हत्याकाण्डमा राजा विरेन्द्रको वंशनाससँगै पशुपतिको आर्यघाटमा आगो लगाएर खरानी बनाएर वागमतीमा बगाइएको थियो।
त्यसैले पूर्व राजा ज्ञानेन्द्र शाह बुद्धि भएदेखि चुपचाप पूर्व राजाको हैसियतमा बसेर आफ्नो कद कायम राख्नु अन्यथा न रहे बाँस नबजे बाँसुरी भने झैं न पूर्व राजाको हैसियत जोगिन्छ न त सामाजिक प्रतिष्ठा नै। बरू यतिखेर ज्ञानेन्द्रले लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाएर नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूको रणानीति असफल बनाउन सहयोगी बन्नुपर्छ। एउटा असल नागरिकको उदाहरण दिन सक्नुपर्छ। किनभने राजतन्त्रभन्दा लोकतान्त्रिक गणतन्त्र प्रगतिशील हुन्छ।