१० मंसिर २०८१, सोमबार 1732547669
Banner

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा– उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात भएको उनको भनाइ छ । ‘हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ’, उनले भने, ‘ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ ।’

हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल व्यवसायी निमादोर्जे लामाले बताए । हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ ।