काठमाडौं । विराटनगरमा आज भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।
विराटनगरको सातघुम्तीमा रहेको कवाडी गोदाममा भएको आगलागीका घाइतेमध्ये एक जनाको अस्पतालमा र अर्का एकको घटनास्थलमै मृत्यु भएको थियो। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।
घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गृहले नेपाली सेनाको स्काई ट्रक पठाएपछि उनीहरूलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो।
आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्। प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ। कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो। गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरू सहजै भाग्न नपाएको प्रहरीको भनाइ छ।