९ मंसिर २०८१, आइतबार 1732444510
Banner

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

काठमाडौँ- वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए ।

सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने व्यहोरा उल्लेख गरिएको भन्दै परीक्षार्थीहरुले धर्ना, जुलुस तथा विरोध गर्न थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो । कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै उठान गरेका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ । नेपालस्थित दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।