९ मंसिर २०८१, आइतबार 1732443155
विचार

झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा र आर्थिक सम्पन्नताको एजेन्डा

समृद्धिको एजेन्डा, विकासको एजेन्डा, परिवर्तनको एजेन्डा, रोजगारीको एजेन्डालाई अब सबै राजनीतिक दलको एजेन्डा बन्नुपर्छ । उनीहरूले प्राथमिकताका साथ यी विषय उठाउनुपर्छ  ।

जनताको सङ्घर्षबाट राजनीतिक परिवर्तन गरी संविधान ल्याएर निर्वाचन सम्पन्न गरिसकेपछि जनताका जनजीवनसँग जोडिएका कुराहरू प्राथमिकतामा हुनुपर्छ भन्ने मूल विषलाई राजनीतिक दलले ध्यानमा राखेर काम गर्नुपर्छ । यसै कुरालाई ध्यानमा राखेर नेकपा एमालेले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प पूरा गर्ने यात्राका रूपमा झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा सञ्चालन गर्‍यो ।

नेपालको इतिहासमा कुनै पनि राजनीतिक दलले आयोजना गरेको यो सबैभन्दा लामो यात्रा थियो । मङ्सिर १४ गते बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न भयो ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीकै नेतृत्वमा झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रा सम्पन्न भयो । झुलाघाटबाट सुरु भएको यात्रा चिवाभञ्ज्याङ पुग्दा त्यसले अभूतपूर्व सफलता पायो । जनताको अभूतपूर्व उत्साह, सहभागिता र स्नेह हामीले प्राप्त गर्न सफल भयौँ । यो क्रममा जे उद्देश्य हामीले राखेका थियौँ, त्यो पूर्ण रूपमा सफल भयो । हाम्रो उद्देश्य हामीले साफतापूर्वक प्राप्त गर्‍यौँ । 

यो यात्राले केही महत्त्वपूर्ण विषयलाई सम्बोधन गरेको छ । समस्या देखाएको छ, समाधानको उपाय पनि दिएको छ । मध्यपहाडको चुनौती औँल्याएको छ, सम्भावना पनि देखाएको छ । 

पहिलो– समृद्धि, विकास र आर्थिक परिवर्तन प्रमुख एजेन्डा हो । आर्थिक रूपमा सम्पन्नताको एजेन्डा अब राजनीतिक दलको एजेन्डा बन्नुपर्छ । नेकपा एमालेले विगतमा जसरी राजनीतिक परिवर्तनका लागि अगुवाइ गरेको थियो । त्यसै गरी समृद्ध नेपाल सुखी नेपालीको एजेन्डामा पनि नेकपा एमालेले नै अगुवाइ गर्नुपर्छ भन्ने नागरिकको धारणा छ । 

यो काम एमालेले गर्न सक्छ भन्ने कुरा जनताले विश्वास गरेका छन् । नेकपा एमालेसँग भिजन पनि छ, कार्यक्रम छ, कार्ययोजना पनि छ, त्यो कार्ययोजना र कार्यक्रमलाई लागु गर्न सक्ने क्षमता भएको नेतृत्व छ भन्ने कुराको पुष्टि गर्नको लागि यो यात्राले आधार प्रदान गरेको छ । नागरिकको बिहानदेखि मध्यरातसम्म एमालेको यात्रामा साथ र सहभागिता यसैको प्रमाण हो । 

दोस्रो, यो बिचमा यो सरकारको अकर्मण्यताको कारण, अरू राजनीतिक दलको अयोग्यताको कारण, एक पछि अर्को सरकारले बेहोरिरहेको असफलताको कारण यो व्यवस्था नै दोष दिएर व्यवस्था विरोधीहरू जुरमुराउने एउटा स्थिति बनेको थियो । तर अहिले यो अभियानमा जनताको जुन किसिमको उत्साहजनक सहभागिता देखियो, त्यसले के जनायो भने जनता व्यवस्थाको विकल्प खोजिरहेका छैनन् । जनता संविधानको विकल्प खोजिरहेका छैनन् । 

जनता यही व्यवस्थाका माध्यमबाट आफ्नो एजेन्डा सम्बोधन होस् भन्ने चाहन्छन् । उनीहरूलाई छुने विषय राजनीतिक दलले उठाइदिँदा जनता तिनै दलप्रति विश्वास जाहेर गर्न तयार छन् । त्यो दलको नेतृत्व पुरानो भयो भनेर अनेक खालका भाष्य खडा गर्न खोजिएका थिए, त्यो कुरा खण्डित गरिदिएको छ । 

सँगसँगै व्यवस्थाका विरुद्ध उत्ताउलो ढङ्गले चलाइएका उटपट्याङ कुरालाई पनि यो यात्राले चिरिदिएको छ । संविधान र व्यवस्थाका विरुद्धमा उत्ताउलो ढङ्गले कुरा गर्नेलाई यो अभियानले राम्रो जवाफ दिएको छ कि जनता यो व्यवस्थाको रक्षा र विकासमा प्रतिबद्ध छन् । व्यवस्था नै उल्टाउने, राजतन्त्र ल्याउँछौँ भन्ने उटपट्याङ कुरा गर्नेलाई यात्राको क्रममा जनसागर उर्लिएर राम्रै जवाफ दिएको छ । 

तेस्रो, यही व्यवस्थाका माध्यमबाट विकास केन्द्रित काममा लाग्नु पर्छ भन्ने पाठ पनि यो यात्राले सिकाएको छ । जनस्तरका विषयलाई लिएर काममा लाग्नु पर्छ । जिल्ला जिल्लाका जनताका समस्या फरक फरक छन् । तल्लो तहमा रहेका जनताका समस्या सङ्कलन गर्न, तिनलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न र अनुभूति गरेपछि कार्ययोजना बनाउनको लागि यो यात्रा अत्यन्त सफल भएको छ ।

अब भोलि हामीले बनाउने हरेक किसिमका कार्ययोजना, चाहे ती संसद्मा उठाउने विषयवस्तु हुन्, चाहे हामीले जितेका स्थानीय तहले प्राथमिकता दिने योजना हुन्, चाहे भोली नेकपा एमालेले पार्टीको कार्यक्रम र घोषणापत्र बनाउँदा यी सम्पूर्ण कामका लागि महत्त्वपूर्ण विषयवस्तु यात्राले प्रदान गरेको छ । 

नागरिकले व्यक्तिगत रूपमा दिनुभएको सुझाव, ज्ञापन-पत्र, सुझाव-पत्र माथि नै उभिएर अब नेकपा एमालेले आफ्ना एजेन्डा अगाडि सार्नुपर्छ, र सार्ने छ । जसका माध्यमबाट भोलि नेकपा एमाले सरकारमा जाँदा पनि केन्द्र, प्रदेश र स्थानीय तहसम्म यी कुरालाई लागु गर्न सक्छ । यस हिसाबले यो यात्रा अत्यन्त उपलब्धिमूलक रहन पुग्यो । 

सारमा नेकपा एमालेले यो यात्राबाट देश बुझ्ने मौका पाएको छ । मध्यपहाडलाई मिहिन ढङ्गले अध्ययन गर्ने मौका पाएको छ । त्यहाँका समस्या पहिचान गरेको छ, सम्भावनाका आधार फेला पारेको छ । समृद्ध नेपाल निर्माणको आधार स्तम्भ भेट्टाएको छ । अब यही आधार स्तम्भमा टेकेर मध्यपहाडको समृद्धिको यात्रा अघि बढ्ने छ ।