२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:14 am
Banner

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सूचना प्रेस २०८० पुस १३ शुक्रबार ००:००, १९:३३ बजे २ मिनेट पढाइ

काठमाडौं-क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । 

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० मा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।

कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए । थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाई पटकपटक जिल्ला अदालतमा हेर्दाहेर्दैकै सूचीमा परेर लम्बिँदै आएको थियो । मुद्दा दर्ता भएको करिब १४ महिनापछि शुक्रबार फैसला भएको हो ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।  न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।