काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।
घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । घटना हुँदा विमानमा यात्री सवार थिए । होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमानमा आगो लागेको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो ।
धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त विमानमा आगलागी भएको समाचार स्रोतहरूलाई उद्दृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ ।