९ मंसिर २०८१, आइतबार 1732430251
Banner

रिसोर्ट सञ्चालन गर्न नदिएकाे भन्दै मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसदको घोषणा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् ।

आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् ।

रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको उनको आरोप छ । आफ्नो काम अझै पनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले बताए ।

उनले भने, ‘चार वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’, उनले भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’

रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताए ।

उनले काम नहुने भए सबै फाइल च्यात्न तयार रहेको भन्दै नभएको काम नभएमा अनसन बसेर सरकारलाई दबाब दिने बताए ।