“आजका बालबालिकाहरू भोलिका राजनीतिक, प्रशासिक, न्यायिक, प्राज्ञिक, सामाजिक र धार्मिक नेतृत्व हुन्।”
राम्रो शिक्षा र सफल विद्यालय र विश्वविद्यालयहरू हाम्रो समाज र राष्ट्र निर्माणको पहिलो आधारभूत आवश्यकता हो। शिक्षाले विद्यार्थीहरूलाई आज ज्ञान र सीपहरू प्रदान गर्दै उनीहरूलाई अगाडि बढ्न मद्दत र अनुकूल वातावरण पनि सिर्जना गर्छ। अनि ती विद्यार्थीहरू भोलिका दिनमा समाज र राष्ट्रको दिगो विकासमा प्रत्यक्ष योगदान दिन सक्ने हुन्छन्। त्यसैले शिक्षामा राज्य र अभिभावकहरूले लगानी बढाउने तत्परता देखाउनु पर्छ। शिक्षामा लगानीलाई लिएर युनेस्कोले भनेको छ, “यदि हामी प्रत्येक समुदायका प्रत्येक बालबालिकाहरूलाई उनीहरूको भविष्य राम्रो बनाउन चाहन्छौं भने, विश्वले शिक्षामा लगानी बढाउनु पर्छ।”
गुणस्तरीय शिक्षाले सबैका जीवनका प्रमुख लक्ष्यहरू हासिल गर्ने र गन्तव्यमा पुग्ने बाटो बनाउन सघाउँछ। अनि शिक्षामा लगानीले ती प्रमुख लक्ष्यहरू प्राप्त गर्न र गन्तव्यमा पुग्न हामीलाई आवश्यक ज्ञान, सीप र क्षमताहरू प्राप्त गर्न सहयोग गर्छ। किनभने शिक्षाले जीवनका योजनाहरूको लागि नीति, रणनीति बनाउन र आवश्यक ज्ञान र विशेषज्ञता प्राप्त गर्न नियमित मद्दत गरिरहेको हुन्छ। यही ज्ञान र विशेषज्ञताको जगमा हामीले देश समृद्ध र शान्त बनाउन सक्छौं। जसले जनतालाई सुखी पनि बनाउने छ। त्यसैले शिक्षाको शक्तिलाई मनन गरेर राज्य र अभिभावकहरूले शिक्षामा लगानी बढाउने नीति लिनुपर्छ।
जनमनोविज्ञान र सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन गुणस्तरीय शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ भने शिक्षालाई गुणस्तरीय बनाउन शिक्षामा लगानीको स्तरले भूमिका निर्वाह गरिरहेको हुन्छ। अहिले त प्रविधिलाई पनि प्रयोग गरेर शिक्षा दिनुपर्ने भएपछि त यसमा थप लगानी आवश्यक भएको छ। यसर्थ हिजोभन्दा आज शिक्षामा लगानी बढाउनु पर्ने परिस्थिति बनेको छ। त्यसैले भनिएको हो, “गुणस्तरीय शिक्षा दिगो र स्वावलम्बी अर्थतन्त्रको आधार हो।”
अब यहाँ शिक्षा राम्रो बनाएर अर्थतन्त्र दिगो र स्वावलम्बी बनाउने हो कि अर्थतन्त्र दिगो र स्वावलम्बी बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने हो भन्ने प्रश्न उठ्न सक्छ। तर हामीले बुझ्नुपर्ने के हो भने सबभन्दा पहिला शिक्षा गुणस्तरीय बनाउनु पर्छ किनभने गुणस्तरीय शिक्षा नै अर्थतन्त्र बलियो बनाउने पहिलो आधार हो। विश्व आर्थिक मञ्चले भनेको छ, “बालबालिकहरूको सीप विकासमा अर्थात शिक्षामा लगानी गर्दा विश्व अर्थतन्त्रमा २।५४ ट्रिलियन डलर योगदान पुग्न सक्छ।” त्यसैले हामीले बुझ्नुपर्छ, “शिक्षामा लगानी कुनै पनि आधुनिक देशको विकासको सबैभन्दा महत्त्वपूर्ण कारक हो।”
सामान्य भाषामा भन्न सकिन्छ, शिक्षामा लगानी बढाउनु भनेको भविष्यप्रति युवाहरूलाई विश्वस्त बनाउनु र दिगो विकासका लक्ष्यहरू हासिल गर्न प्रत्यक्ष सहयोग पुर्याउनु हो। किनभने शिक्षाले जीवनमा रूपान्तरण गर्न मुख्य भूमिका खेलेको हुन्छ। शिक्षाको उद्देश्य समाजमा शान्ति कायम गर्नु, गरिबी उन्मूलनको आधार बनाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सघाउनु हो। त्यसैले शिक्षामा लागि बढाउनु राज्य र नागरिक दुबैको दायित्व हो।
“गुणस्तरीय शिक्षामा लगानी बढाउनु भनेको हाम्रो सुन्दर भविष्यमाथिको लगानी हो। गुणस्तरीय शिक्षा प्राप्त गर्न पर्याप्त लागत लाग्छ नै जसले विद्यार्थीहरूमा थप ज्ञान, सीप र आत्मविश्वास आर्जन गर्न मद्दत गर्छ। विद्यार्थीहरू अर्थात नयाँ पुस्तामा ज्ञान, सीप र आत्मविश्वास बढ्नु भनेको उनीहरूमा कमाई क्षमता र उत्पादकत्व पनि बढ्नु हो।” त्यसैले यति बेला राज्यले शिक्षामा लगानी बढाउनु पर्छ र अभिभावकहरूलाई पनि उनीहरूको आर्थिक क्षमतानुसार लगानी बढाउन प्रेरित गर्नुपर्छ। आज देशमा निःशुल्क शिक्षाको संवैधानिक व्यवस्थाका कारणले नेपालका सार्वजनिक शिक्षाप्रति आमअभिभावकहरूको चासो र विश्वास घटेको छ।
जबसम्म देशको आर्थिक अवस्था बलियो हुँदैन् तबसम्म देशले शिक्षालगायत सामाजिक सुरक्षाको क्षेत्रमा अपेक्षित रूपमा लगानी बढाउन सक्दैन्। फेरि शिक्षा व्यवस्था गुणस्तरीय नहुञ्जेलसम्म नागरिक असल र सबल बन्दैनन् अनि देशको आर्थिक अवस्था राम्रो पनि हुँदैन्। नेपालमा अहिले भएको पनि यही हो। जसका कारणले हामी कमजोर र परनिर्भर भइरहेका छौं। यो अवस्थाको अन्त्यका लागि तत्काल शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै यसमा पर्याप्त लगानी बढाउन राजनीतिक तथा प्रशासनिक नेतृत्वले इच्छाशक्ति देखाउनु पर्छ भने शिक्षाविद्हरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। बुझौं र बुझाऔं, ‘शिक्षामा लगानी गर्नु उज्ज्वल भविष्य सुनिश्चित गर्ने बुद्धिमानीपूर्ण निर्णय हो।’