कम्न्युनिष्ट राजनीतिको विरोध गर्दा दक्षिणपन्थीहरू रमाउँछन् नै
माधव, झलनाथ र प्रचण्ड (माझण्ड) हरूको प्रयोग कम्न्युनिष्ट राजनीति कमजोर बनाउन भइरहेको छ। त्यसैले त दक्षिणपन्थीहरू माझण्डहरूको हाई-हाई गरेर कम्न्युनिष्ट विरोधी राजनीतिक माहौल बनाउने प्रयास गरिरहेका छन्। यो कुरो आमजनताले बुझ्न सकिरहेका छैनन्। त्यसैले त जनताहरू माझण्डहरूको गद्दारीमा बिच्किएर स्वछन्द र अराजक जत्थाको पक्षमा उभिन खोजेको देखिन्छ। त्यस्तै जनताको विवेक र चेतनाले असल र खराब छुट्याउन र वैचारिक राजनीति चिन्न सकिरहेको छैन्।
राजनीतिक दर्शनहरू मध्ये मार्क्सवाद सबभन्दा प्रगितिशील र लोकतान्त्रिक राजनीतिक विचार हो। नेपालको सन्दर्भमा यो विचारलाई अझ परिस्कृत र उत्तम बनाउन जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) ले मुख्य भूमिका खेलेको थियो। जबजले कम्न्युनिष्टहरूप्रति जनआकर्षण बढेर कम्न्युनिष्ट जनाधार बलियो बन्दै थियो। यो जनाकर्षण र जनाधार कमजोर बनाउने उद्देश्यका साथ दक्षिणपन्थीहरूले पहिले षडयन्त्रपूर्ण तरिकाबाट मदन भण्डारीको हत्या गरे भने अहिले माझण्डहरूको उपयोग गरेर कम्न्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम भइरहेको छ। आज माझण्डहरू कै गद्दारीका कारणले जनतामा वितृष्णा र आक्रोश बढ्यो। जनतामा बढेको वितृष्णा र आक्रोशलाई लोकप्रियतावादले आफ्नो राजनीतिक आधार बनाउन खोजिरहेको छ।
यसबाट हामीले बुझ्नुपर्छ, नेपालको कम्न्युनिष्ट आन्दोलन बदनाम गराएर कमजोर बनाउन एकातिर आन्दोलनभित्रैका गद्दारहरू प्रयोग भइरहेका छन् भने अर्कातिर इण्डोवेष्ट अर्थात दक्षिणपन्थीहरूले लोकप्रियतावादको भ्रम जनतामा व्याप्त बनाउन लगानी गरिरहेका छन्। उनीहरूको निष्कर्ष छ, देउवा र माझण्डहरूको कम्फर्टेबल सत्ता गठबन्धनबाट मात्रै नेपालको कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउन सकिन्न। त्यसैले पछिल्लो पटक भ्रमको राजनीतिक घण्टी बजाउने प्रयास गरिरहेका छन्। यस सन्दर्भलाई लिएर शंकर पोखरेलले गर्नु भएको टिप्पणी बढी सान्दर्भिक देखिन्छ। पोखरेलको टिप्पणी छ, कम्फर्टेबल सत्ता गठबन्धनको वितृष्णाले जो सबैभन्दा बढी स्वछन्द र अराजक छ, त्यही विकल्प हो भन्ने मनोविज्ञान बनाउने प्रयास हुँदैछ।
जबसम्म यो खालको भ्रमले राजनीतिक चर्चा र प्राथमिकता पाइरहन्छ, तबसम्म नेपालको राजनीतिले सही बाटो लिने सम्भावना छैन्। तर यो यथार्थ जनतालाई बुझाउन सकिएको छैन् र जनताले पनि बुझ्ने चेष्टा गरिरहेका छैनन्। रवी लामिछाने, दुर्गा प्रसाई, रेशमलाल चौधरी, बालेन र हर्कहरूको चर्चा यसको प्रमाण हो। जबकि यी पात्रहरूको न कुनै वैचारिक राजनीतिक धरातल छ न त राजनीतिक त्याग र योगदान नै। तैपनि सञ्चार र सञ्जालमा तिनीहरू कै चर्चा हुँदा जनमनोविज्ञान पनि भ्रमहरूबाट टाढा हुन सकेन। त्यसैले त रवी, दुर्गा, रेशम, बालेन र हर्कहरू समस्या भन्न र बन्न सक्ने भएका छन् अनि त्यसैलाई जनताले क्षमता ठानेका छन्। जबकि यो क्षमता होइन किनभने समस्या देखाउनु र भन्नु अनि समस्याको समाधान खोज्नु र दिनु फरक कुरा हो।
बेला राजनीतिमा मात्र समस्यामात्र देखाएर नकारात्मकता व्यापक बनाएर जनतालाई झुक्याउने राजनीति हावी हुन थालेको छ। राजनीतिक दर्शन, मूल्यमान्यता र आदर्शलाई गौण बनाएर भ्रमको खेति पनि गरिदैछ। राजनीतिमा त्याग र योगदानको अपव्याख्या गर्ने प्रयास पनि भइरहेको छ किनभने आफ्नो विवादास्पद निकट विगत र छवी जनताले थाहा पाउलान कि भन्ने डरले उनीहरूमा घर गरेको छ। त्यसैले त उनीहरू माझण्डहरूको कमजोरीलाई प्रयोग गरेर एकातिर इण्डोवेस्टको साहारामा आफ्नो विचारहीन राजनीति बलियो देखाउने प्रयास गर्दैछन् भने अर्कातिर नेपालको कम्न्युनिष्ट आन्दोलन बदनाम गराउन सहयोगी बन्दैछन्।
तर जनताको बहुदलीय जनवाद मार्क्सवादको सिर्जनात्मक रूप भएतापनि सारमा मार्क्सवादी विचार नै हो भन्ने कुरा बुझाउन सकिएको छैन्।जबकि जबजले समाजको प्रगतिशील र लोकतान्त्रिक रूपान्तरण सुनिश्चित गर्ने राजनीतिको पक्षपोषण गर्छ। यसबाट आत्तिएका दक्षिणपन्थीहरूले माझण्डहरूलाई प्रयोग गरेर जबज पक्षधर राजनीतिलाई कमजोर बनाउने प्रयासलाई निरन्तरता दिइरहेका छन्। त्यसैले माझण्डहरू कम्न्युनिष्ट आन्दोलनको ऐँजेरू हुन भनेर हामीले बुझ्नु र बुझाउनु पर्छ।
प्रचण्डहरूले हिजो इणडोवेस्टको स्वार्थमा हतियार बोकेर जनता झुक्याए आज तिनै प्रचण्ड सत्ताको नेतृत्व गरेर इण्डोवेस्टको सेवा गरिरहेका छन्। पहिले प्रचण्डलाई माधव र झलनाथले कसरी सघाए खोजीको विषय होला तर अहिले भने सघाइरहेका छन्। नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन र परमादेशबाट जनादेश विस्थापित गर्न माझण्डहरूले दक्षिणपन्थीहरूलाई सघाएको केही वर्षमात्र भएको छ। आज पनि दक्षिणपन्थीहरूकै रणनीतिबमोजिम पार्टी सत्ता र राज्य सत्ताको दुरूपयोग गरिरहेका छन्।
भनिन्छ,एउटै रूखमा फलेका फलहरू पनि एकै आकारको हुँदैन् र एकैपटक पाक्दैन्। त्यसैगरी पात्र, प्रवृत्ति र घटनाहरूलाई मान्छेले एकै ढंगले बुझ्दैन्। कसैले ढिलो बुझ्छ त कसैले चाँडो किनभने मान्छे अर्थात जनताको विवेक र चेतना समान ढंगको हुँदैन्। यो प्रकृतिको चरित्र पनि हो। यसर्थ जनता जागरूक, सचेत, सक्षम र असल बनाउने शिक्षा तथा सामाजिक व्यवस्था अनि राजनीति अति आवश्यक भएको छ। यसका साथै न्यायलय र प्रशासन पनि राजनैतिक तथा सैवैधानिक व्यवस्थाअनुरूपको बनाउनु पर्छ।
ललिता निवासको जग्गा प्रकरणमा प्रशासन र न्यायलयले खेलेको भूमिका ठीक नभएको अदालतको फैसलाले प्रमाण दिएको छ। किनभने निर्णयमा मुख्य भूमिका खेल्ने पात्रहरूलाई दण्डित गर्नबाट न्यायलय चुकेको छ। निर्णयमाथि टिप्पणी गर्दै ललिता निवास छानबिन समितिका संयोजक शारदाप्रसाद त्रिताल भन्छन्, अख्तियारले गहिरो अनुसन्धान गरेको थियो तर केही दोषीहरूलाई बचाउन खोजेर मुद्दा दायर गर्दा राजनीतिक व्यक्तिहरू सजायबाट बच्न पगेका छन्।
हामीले बिना संकोच भन्नुपर्छ, माधव र बाबुरामहरूलाई जोगाउन प्रचण्ड नेतृत्वको केन्द्रीय सत्ता गठबन्धन प्रयोग भयो। यसले पनि नेपालको कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउने सिधा आँकलन गर्न सकिन्छ र भन्न सकिन्छ, माझण्डहरू कम्न्युनिष्ट आन्दोलनमात्र होइन नेपालको लोकतान्त्रिक प्रणाली पनि कमजोर बनाउन मुख्य सहयोगी भइरहेका छन्। त्यसैले माझण्डहरू कम्न्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको ऐँजेरू हुन भन्न कञ्जुस्याई गर्नु पर्दैन्।