काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने संकल्प रहेको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प रहेको बताएका हुन्।
‘मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ। प्रधानमन्त्री पद पनि असुरक्षित थिएन। सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन। तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन। औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ।’ उनले भने, ‘आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु। मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ।’