९ मंसिर २०८१, आइतबार 1732487937
Banner

प्रेमिका नर्सको हत्या गरेर फरार भएका प्रेमी शिवशंकर झुण्डिएको अवस्थामा मृत फेला

विराटनगर । विराटनगरको नोबेल टिचिङ्ग अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी विराटनगरको एक होटलमा मृत फेला परेका छन् । चन्द्रिका कुमारीको हत्या गरी फरार रहेका २२ वर्षीय शिवशंकर दास नोबेल अस्पताल अगाडि रहेको होटल फाइनमा झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत फेला परेका हुन् । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।

सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर– ४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । चन्द्रिका कुमारीको उनकै प्रेमी शिवशंकरले हत्या गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए ।