‘परिपूर्ण लोकतन्त्र व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत तथा सामुहिक हित सुनिश्चित गर्ने विचार, प्रणाली वा सत्ताको परिकल्पना हो। यसले हरेक नागरिकलाई न्यायिक रूपमा प्रभावकारी समान अवसर प्रदान र निर्णय प्रक्रियामा सम्मानजनक उपस्थिति सुनिश्चित गर्छ अनि राज्यप्रति जनताको अपनत्व बढाउँछ।’
यति बेला हामीले राजनैतिक तथा संवैधानिक गतिशीलताका साथ देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउने हो भने लोकतन्त्रलाई परिपूर्ण बनाउन सक्रिय भूमिका खेल्नुपर्नेछ। तर हाम्रो चेतना, विवेक र व्यवहारले लोकतन्त्रलाई परिपूर्ण बनाउने बाटो लिन नै सकेको छैन् किनभने हामी भ्रमबाट प्रभावित र निर्देशित भइरहेका छौं। बौद्धिक वर्गले पनि हामीलाई सही बाटो देखाउन र समाजमा व्याप्त नकारात्मकता हटाउन भूमिका खेलिरहेका छैनन्। हाम्रा सञ्चार माध्यमहरूले पनि निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेका छैनन्।
राजनीतिमा उपयोगितावादको भूमिका बढाएर विचारहीन लोकप्रियतावादको चर्चा चलाएर न लोकतान्त्रिक प्रणालीलाई परिपूर्ण बनाउन सकिन्छ न त समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न नै सक्छ। तैपनि आज त्यही खालको राजनीतिले चर्चा र प्राथमिकता पाइरहेको छ। यो देशमा संकट निम्त्याउने मति हो किनभने उपयोगितावाद देशका लागि समस्या बनेकै छ, विचारहीन लोकप्रियतावाद देशका लागि अर्को समस्या बन्दैछ। तर हामी भने कुरै नबुझी उनीहरूको मनोबल बढाउने काम गरिरहेका छौं।
हामीले बुझ्नुपर्छ, जनताले विचारहीन राजनीति र चरित्रहीन पात्रबाट आफ्ना अपेक्षा पूरा हुने विश्वासका साथ निष्कर्षमा पुग्न खोज्दा देशले अस्वभाविक बाटो लिन्छ कि भन्ने त्रास जनआक्रोशमा देखिएको छ। त्यही जनआक्रोशलाई व्यवस्था विरोधीहरूले व्यवस्था बदल्ने आधार बनाउने प्रयास गरिरहेका छन्। त्यसैले उनीहरू अवस्थामा परिवर्तन गर्नका लागि व्यवस्थामा परिवर्तन अनिवार्य भएको कुतर्क गरिरहेका छन्। त्यसैले हामीले भन्नुपर्छ :
बोका दायर दाइ हुन्न,
विचारबिनाको राजनीति हुन्न।१।
नागरिकताबिनाको नागरिक हुन्न,
घरपरिवार त्याग्ने घरमूली हुन्न।२।
त्याग र योगदानबिनाको नेता हुन्न,
चरित्र र नैतिकताबिनाको मुखिया हुन्न।३।
अवसरवादमा रमाउने प्राज्ञिक हुन्न,
माटोको सुवास नचिन्ने मान्छे हुन्न।४।
विश्वासबिनाको सहयात्रा हुन्न,
भिंडबिनाको मेला र जात्रा हुन्न।५।
नेता कस्तो हुनुपर्छ भन्ने सवालमा जोन म्याक्सवेलले भनेका छन्, ‘नेताहरू आफ्नो शक्तिले होइन, अरूलाई सशक्त बनाउने क्षमताका कारणले महान बन्छन्।’ यो कुरो हाम्रा नेताहरू बुझेका छैनन्। नयाँ हुँ भन्नेले त झन बुझेकै छैनन्। जसले गर्दा हाम्रो परिपूर्ण लोकतन्त्रको चाहाना पूरा गर्ने बाटोमा अबरोध देखिएका छन्। फेरि यो लेखकको बुझाइमा प्राज्ञिक वर्गले न सकारात्मक बाटो देखाउँछ, न त नकारात्मकता हटाउन सघाउँछ। हाम्रा प्राज्ञिक वर्गले किन त्यसो गरिएका छन् ? खोजीको विषय बनेको छ।
अहिलेको राजनीतिक परिघटना, देशको परिस्थिति र जनताको मनस्थितिलाई लिएर राजनीतिक विश्लेषक तथा लेखकहरूले विभिन्न माध्यमहरूबाट आफ्ना धारणा राखिरहेका छन्। कति सकारात्मक होलान र कति नकारात्मक अनि त्यसको नियत के हो पाठकहरूको बुझाइमा निर्भर गर्छ। त्यो बुझाइको आधार उसको चेतना र विवेकले निर्धारण गर्छ।
यस सन्दर्भमा विष्णु सापकोटाको कान्तिपुरको ‘नेपाली समाजमा किन गुम्यो आत्मविश्वास ?’ लेख बढी सान्दर्भिक छ। सो लेखमा उनी लेख्छन्, ‘हामी पछि परेको न सुगौंली सन्धीले हो न राणा शासनले। न ३० वर्षे पञ्चायतले नै गर्न नदिएको हो, न त त्यसपछिका ३० वर्षका अलमलले। पछि परेको त हामीले शासन गर्न भनेर आफैंले चुनेर पठाएको आधारभूत असक्षमता हो। नेपाली राष्ट्रिय मानसिकताले देश जहिले पनि भूराजनीतिक संवेदनशीलताको अप्ठ्यारो स्थितिमा छ भन्ने सोच्छ।’
आज हामीले स्वीकार्नु पर्छ, जनतामा सकारात्मक सोच निर्माण गर्न राजनीतिमा सकारात्मक सोचको आवश्यकता हुन्छ। यो सोच निर्माण गर्नका लागि एकातिर लोकतन्त्रलाई परिपूर्ण बनाउनु पर्नेछ भने अर्कातिर जनतालाई राम्रो शिक्षाले दीक्षित गरिरहनु पर्छ। यसका लागि परिपूर्ण लोकतन्त्रको आवश्यकता र शक्तिलाई हामीले मनन गर्न सक्नुपर्छ। त्यसैले आजको आवश्यकता कस्तो राजनीति र राजनीतिक नेतृत्व भन्ने सवालमा हामी स्पष्ट हुनैपर्छ। ‘राजनीतिक नेतामा भ्रमको राजनीति नगरी जोखिम मोल्ने, सहकार्य गर्ने र देशमा सकारात्मक प्रभाव पार्ने शक्ति हुनुपर्छ।’
हामीले बुझ्नुपर्छ, ‘स–साना परिवर्तनहरूले पनि उल्लेखनीय परिणामहरू दिन्छन्।’ यसमा हाम्रो र हाम्रो राजनीतिको ध्यान जान सकिरहेको छैन्। जसले गर्दा भूईंको टिप्न खोज्दा पोल्टाको गुमाउनु पर्ने अवस्थामा बेला(बेलामा हामी पुगेका छौं। यो आजको यथार्थ हो। त्यसैले त नेपालमा आज एकातिर हिन्दु राष्ट्र चाहियो भनेर सडकमा नारा लगाउँदै मेशिनरी संस्थाले दिएको दान बोकेर गिर्जाघर धाइरहेका छन्। फेरि अर्काथरी पहिचान चाहियो भन्दै उपद्रव गर्दैछन् र प्रत्येक शनिबार गिर्जागर धाएर मालिकप्रति भक्ति जनाउँदैछन्। अनि अर्काथरी पुरानाजति खराब भन्दै आफूले खराब भनेकालाई अघि लगाएर सत्ता भोग गर्न रमाइरहेका छन्। यसले स्पष्ट पार्छ, समस्या हाम्रो मनोविज्ञानमा छ तर दोष राजनीति र राजनीतिक व्यवस्थालाई दिइरहेका छौं।
राजनैतिक तथा संवैधानिक व्यवस्थामा भएको परिवर्तनअनुरूप देशको अवस्थामा परिवर्तन देखिएन अर्थात जनअपेक्षानुसार राज्य चलेन भन्ने गुनासो बेठीक होइन। तर देशको अवस्थामा परिवर्तन र जनअपेक्षा पूरा नहुनुको पछाडिको कारण खोज्न हामी असमर्थ भइरहेका छौं। यसका पछाडिको मुख्य कारण हाम्रो नकारात्मक चेत, भ्रष्ट मनविज्ञान र अस्थिर चरित्र नै हो। हामी देशको अवस्था बदलिएन भन्छौं अनि राहदानी बोकेर विदेशी बन्न हानिन्छौं। फेरि उता विदेशमा बसेर यता देशको राजनीतिमा खराब पात्र र प्रवृत्तिलाई सहयोग गर्न रमाइ रहन्छौं। यो चेतना र व्यवहारले न राजनीतिलाई परिपूर्ण लोकतन्त्रको बाटो लिन सक्यो न त देशको अवस्था बदल्ने आधार नै बनाउन सक्यो। देशको समस्या नै यही हो।
यसको मुख्य कारण हाम्रो शिक्षाले नै हामीलाई ठीक दीक्षा दिइरहेको छैन्। त्यसैले त हामी २१औं शताब्दीमा पनि भ्रमहरूबाट प्रभावित र निर्देशित भइरहेका अनि खराबका पछि कुदिरहेका छौं। प्रगति खोज्न प्रतिगमनको त उन्नति खोज्न दासताको साहारा लिदैछौं। फेरि खराबलाई अघि लगाएर सुशासन र समृद्धि खोज्दैछौं। त्यसैले समस्या हाम्रो चेतमा नै छ न कि हाम्रो शासन व्यवस्थामा। त्यसैले यति बेला राजनीतिको शुद्धीकरण गर्नुभन्दा अघि जनमन शुद्धीकरण हुनुपर्छ। जनता भ्रमबाट मुक्त हुनुपर्छ। जनताले असल र खराब छुट्याउने क्षमता देखाउन र परिपूर्ण लोकतान्त्रिक विचार र नेतृत्व चिन्न र चुन्न सक्नुपर्छ। खराब पात्र र प्रवृत्तिलाई अघि लगाएर न देशको अवस्था बदल्न सकिन्छ न त जनअपेक्षाहरू नै पूरा हुन्छन् भनेर हामीले आत्मसात गर्नुपर्छ।
अब राजनीतिलाई सही बाटोमा ल्याउन र परिपूर्ण लोकतन्त्रमार्फत : समृद्ध नेपाल सुखी नेपालीु बनाउन जनताले सुझबुझका साथ आफ्नो विवेक र अधिकार प्रयोग गर्न सक्ने बनाउन सक्नुपर्छ। राजनीतिमा परिपूर्ण लोकतन्त्रको शक्ति पनि जनताले बुझ्नुपर्छ। यसका लागि हामीले शिक्षा र शिक्षालयको गुणस्तर राम्रो बनाउनु पर्छ। गुणस्तरीय शिक्षामार्फत हरेक नागरिकलाई परिपूर्ण लोकतन्त्रको पक्षमा उभिने बनाएर जनमनोविज्ञान र विश्वास बलियो बनाउन योगदान गर्नुपर्छ। तर यथास्थितिमा सुधारको एजेण्डा लिएर अघि बढियो भने घुमिफिरी रूम्जाटार भने झैं देशको अवस्थामा गुणात्मक सुधार नभएर जनअपेक्षाहरूको उपेक्षा भएर जनआक्रोश बढ्नेछ।
अन्तमा भन्नुपर्छ, व्यवस्था त बदलियो अवस्था बदलिएनू भन्ने भाष्यमा पूर्ण सत्यता छैन् किनभने भौतिक र आर्थिक प्रगतिको गतिलाई विगतको द्वन्द्व, नागरिकको दोहोरो चरित्र र राजनीतिक संक्रमणले अवरोध गर्दा सुस्त हुन पुगेको हो। यो खालको नकारात्मक अवस्थाको अन्त्यका लागि देशमा परिपूर्ण लोकतन्त्र नै बलियो बनाउनु पर्छ।