२८ भदौ २०८३, आइतबार 1789317234
Banner

सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको सिआइबीले सभामुख घिमिरेलाई दियो जानकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ ।

सीआईबीले सभामुखलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी दिएको हो । ब्युरोका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बुधबार सभामुखलाई पत्र लेख्नुभएको हो । पत्रमा काठमाडौं महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ ।

काठमाडौं महानगरपालिका ३ नं. वडाको कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह थापा समेत भएको बाँसबारी छाला जुत्ता कारखाना लि. को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह कानूनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख छ। यही प्रकरणमा गत माघ १८ गते सीआईबीले अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।