‘शिक्षा व्यवस्थाको गुणस्तरले हाम्रो मनस्थिति, हाम्रो जीवनको गुणस्तर र देशको अवस्था निर्धारण गर्छ।’ अब नेपालको शिक्षा व्यवस्थामा आमूल परिवर्तन किन ? हामीले यस प्रश्नको ठीक उत्तर खोज्नुपर्छ अनि मात्रै हामीले शिक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र जनताको मानसिकतामा सकारात्मक परिवर्तन गरी नेपालको सामाजिक–आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएर समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा सक्नेछौँ। यति बेला हामीले बुझ्नुपर्छ, ‘शिक्षा व्यवस्थालाई राजनीतिबाट अलग गर्न सक्दैनौं र राजनीतिलाई पनि कक्षाकोठा र समुदायबाट बाहिर राख्न सक्दैनौं।’ तर यो यथार्थ पक्षलाई न हामीले बुझिरहेका छौं न त जनतालाई बुझाउने प्रयास गर्दैछौं। यसले देशमा भ्रमित मनोविज्ञान बलशाली बनाएर स्वछन्दता र अराजकता बढाउँदैछ ।
शिक्षा व्यवस्था र पाठ्यक्रमलाई लिएर क्रियटिभ एसोसियट्स इन्टरनेशनलकी वरिष्ठ शिक्षा प्रविधि निर्देशक रेबेका स्टोन भन्छिन्, ‘हाम्रो ध्यान केवल पाठ्यक्रम र शिक्षाशास्त्रमा मात्र होइन, तर सम्पूर्ण सहयोगी वातावरण, कक्षाकोठामा मात्र होइन घर र समुदायमा के भइरहेको छ भन्ने कुरामा पनि केन्द्रीत हुन्छ।’ आज यो तर्क सैद्धान्तिक रूपमा स्वीकारिएको व्यावहारिक रूपमा कार्यान्वयन नभएको अवस्था छ। जसले गर्दा नेपालमा समाजको मनोविज्ञान सकारात्मक र रचनात्मक बन्न सकेन। जनतामा यो देशमा केही हुँदैन् भन्ने गलत भाष्य विकास भइरहेको छ। नयाँ भन्नेहरूको राजनीति पनि गलत भाष्यको जगमा अगाडि बढाउन खोजिदैछ। त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तन राजनीति र राज्यको पहिलो मुद्दा बन्नुपर्छ।
चाणक्य भनेका थिए, ‘शिक्षा नै मानिसको वास्तविक साथी हो। शिक्षित व्यक्ति जताततै सम्मानित हुन्छ। शिक्षाले व्यक्तिको सुन्दरता र जवानीलाई माथ दिन सक्छ।’ त्यसैले राज्यले नागरिकलाई गुणस्तरीय शिक्षा, व्यावहारिक सीप दिन, नैतिकवान र चरित्रवान बनाउन नसक्दासम्म नयाँ पुस्तामा पलायन संस्कृतिमा रमाउने मनोविज्ञान विकास भइरहेको छ। राज्यको नीति पनि ठूला विदेशी दाताहरूको प्रभाव र दबाबमा बन्दा देशको आवश्यकताले प्राथमिकता पाएन। अनि हामी जनता पनि भ्रमित भएर खराब र अयोग्य पात्र र प्रवृत्तिबाट आफू शासित हुनुपरेको पत्तो नै पाइरहेका छैनौं। यो सन्दर्भलाई उतिबेलै चाणक्यले भनेका थिए, ‘तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यही हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि शासन गर्नेछ।’ आज हामी नेपाली चाणक्यले भनेझैं प्रचण्ड र रवीको नेतृत्वमा हामी शासित हुनुपरेको छ।
त्यसैले यति बेला हामीले हाम्रो शिक्षा व्यवस्थाको अवस्था र देशको आवश्यकताका बारेमा बृहत मस्तिष्क र सामाजिक मन्थन गर्नुपर्ने भएको छ। यो लेखकको बुझाइमा ‘शिक्षा व्यवस्थामा आमूल परिवर्तन किन’ ? भन्ने प्रश्नमा हामी सबै सरोकारवालाहरू केन्द्रीत भएर आफ्ना क्षमताहरू प्रयोग गर्ने ठाउँमा उभिनु पर्छ। यदि तर गरेर यथास्थितिमा रमाउने अवस्था छैन्। आज त राज्य आफ्ना नागरिक निर्यात गरेर देश समृद्ध बनाउने गलत परिकल्पनामा रमाइरहेको छ। यो परिकल्पनाले हामीलाई दिने भनेको दुःख र असन्तुष्टी, अस्थिरता र भद्रगोल अनि बढ्ने आक्रोश नै हो। यस सन्दर्भमा हरिवंश आचार्यको पछिल्लो भनाइ बढी सान्दर्भिक देखिन्छ। उनी भन्छन्, ‘युवा उमेर विदेशलाई, बुढ्यौली देशलाई गरेर देश माथि जाँदैन्।’
अहिले त हामी विदेश पलायन हुन सिकाउने शिक्षामा लगानी गरेर अनि सघाउने राज्यको नीति मानेर समृद्ध नेपाल सुखी नेपाली बनाउने महान परिकल्पनामा अलमलिएका छौं। समृद्ध नेपाल सुखी नेपाली बनाउने महान परिकल्पना पूरा गर्ने हो भने हामीले नागरिक पलायन हुन सिकाउने शिक्षा र सघाउने राज्यको नीति त्याग्न सक्नुपर्छ। नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा र सघाउने राज्यको नीतिका कारणले देश पछाडि परेको सत्य हामीले स्वीकार गर्नुपर्छ र यसबाट मुक्त हुने बाटो लिनुपर्छ।
‘कुनै देश ध्वस्त बनाउनु छ भने त्यो देशको शिक्षा व्यवस्था ध्वस्त बनाउनु पर्छ।’ भन्ने नेल्शन मण्डेलाको भनाइ हाम्रो सन्दर्भमा पूरा मिलेको छ। तर हामीले मण्डेलाका भनाइ र अनुभवहरूबाट सिकिरहेका छैनौं र नागरिक निर्यात गर्ने नीतिमा रमाइरहेका छौं। जबकि हामीले समय र श्रोतको सीमितता अनि देशको आवश्यकतालाई बुझेर अरूको गल्ति तथा अनुभवहरूबाट सिकेर शिक्षा व्यवस्थामा आमूल परिवर्तन र राज्यको नीतिमा परिमार्जन गर्न सक्नुपर्थ्यो।
“शिक्षाले नयाँ पुस्तालाई आजको परीक्षाको लागि होइन, नयाँ संसारका लागि वैश्वीक नागरिक र आ(आफ्नो सामुदायिक जीवनमा उपयोगी असल नागरिकका रूपमा तयार गर्नुपर्छ।”
त्यसैले शिक्षामा आमूल परिवर्तनको समय आएको कुरा मुख्य सरोकारवालाहरूले बुझ्नुपर्छ। खासगरी राजनीतिक नेतृत्वमा शिक्षामा आमूल सुधार वा परिवर्तन गर्ने इच्छाशक्ति पनि हुनुपर्छ। तर हामीले शिक्षाको राष्ट्रिय उद्देश्य बनाउनै बिर्सियौं। शिक्षाको दार्शनिक पक्ष के हुनुपर्छ ख्यालै गरेनौं। हामीले त शिक्षा र शिक्षालयलाई राजनीतिक गतिविधिहरू गर्ने थलोमात्र बनायौं। बालबालिकाहरूको हित र देशको भविष्यप्रति बेवास्ता गरेर बेरोजगार तयार गर्ने कारखाना मात्र बनाइरह्यौं। उनीहरूलाई वस्तुको रूपमा विदेश निर्यात पनि गरिरहेका छौं।
शिक्षालाई लिएर जोन डेवीले भनेका छन्, “शिक्षा जीवनको तयारी होइन, शिक्षा नै जीवन हो।” अनि निकोलोस क्रिस्टोफले भनेका छन्, “शिक्षा अवसर प्राप्तिका लागि उत्तम भर्याङ हो।” जोन डेवी र निकोलोस क्रिस्टोफको भनाईले शिक्षाको महत्त्व कति छ भन्ने कुरा स्पष्ट पारेको छ। यदि गुणस्तरीय शिक्षामार्फत नागरिकलाई नैतिकवान, चरित्रवान र क्षमतावान बनाउन सकियो भने राजनीतिमात्र होइन देशको प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्था जनमुखी र गुणस्तरीय बन्न थाल्नेछ।
आज हामीले बुझ्नुपर्छ “गुणस्तरीय शिक्षा सामाजिक व्यवहार परिवर्तन गराउने पहिलो मुख्य आधार हो।” तर नेपालमा शिक्षा शैक्षिक माफियाहरूका लागि पैसा कमाउने व्यवसाय बनेको छ। जसले गर्दा शिक्षालयबाट मान्छे होइन वस्तु उत्पादन भइरहेको छ, त्यसैले हाम्रा शैक्षिक उत्पादनहरू वस्तु झैं निर्यात भइरहेको छ। शासकहरू पनि विप्रेषण यति आयो उति आयो भनेर हिसाब देखाउँदैछन्। जबकि विप्रेषण देश समृद्ध बनाउने आधार होइन। शिक्षाले त देशका लागि श्रम र सेवा गर्ने नागरिक तयार गर्नुपर्छ। त्यसैले शिक्षालाई गुणस्तरीय बनाउँदै समतामूलक समाज र देशको दिगो भविष्यको आधार बनाउनु पर्छ।
देश समृद्ध र बलियो बनाउन शिक्षाले मुख्य भूमिका खेलेको हुन्छ। यो सत्यलाई बुझेर हामीले हाम्रो पूर्वीय विश्वदृष्टिकोणको जगमा नयाँ शिक्षा व्यवस्थाको विकास र यसको प्रभावकारी कार्यान्वयन गर्न लगानी पनि बढाउनु पर्छ। तर ग्लोबल नर्थको प्रभावमा परेर नीति तथा कार्यक्रमहरू बनाउनु र त्यसमा लगानी गर्नु भनेको देश र जनताको स्वार्थ कमजोर बनाउनु हो। जति(जति हाम्रो शिक्षा तथा सामाजिक व्यवस्थामा पश्चिमा विश्वदृष्टिकोण हावी हुँदै आयो त्यति–त्यति हामी कमजोर र परनिर्भरमात्र भइरहेका छैनौं, हामीले हाम्रो मौलिक राष्ट्रिय पहिचान पनि कमजोर बनाइरहेका छौं। पलायन संस्कृतिलाई बढावा दिने नीतिहरूको निरन्तरता दिइरहेका छौं र यसले व्यापकता पाइरहेको छ। तर यसको तथ्यसँगत ढंगले विरोध नहुँदा देश हिजोभन्दा आज कमजोर र युवाविहीन बन्दैछ।
अहिले शिक्षा व्यवस्थामा आमूल परिवर्तनको कुरा गरिरहँदा हामीले शिक्षाको विश्वदृष्टकोण र राष्ट्रिय उद्देश्यसँगै पाठ्यक्रमको विकास, माध्यम भाषाका रूपमा भाषाहरूको सन्तुलित प्रयोग र अब्बल शैक्षिक जनशक्तिको विकासलाई पनि मुख्य मुद्दा बनाउनु पर्छ। किनभने भाषासँग भाषिक समुदायको चिन्तन प्रणाली अर्थात विश्वदृष्टिकोण, मौलिक धर्म संस्कृति, मूल्यमान्यता, पहिचान, ज्ञान, विज्ञान, सीप र कलाहरू जोडिएको हुन्छ। त्यसैले शिक्षा व्यवस्थाले यी सबै पक्षहरूलाई समेट्न सक्नुपर्छ।
सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकियो भने नेपालमा गरिबी बिस्तारै हट्न थाल्छ र नागरिक पलायनको संस्कृति कमजोर बन्नेछ। शिक्षा व्यवस्थालाई लिएर ‘जीवनोपयोगी शिक्षाको खाँचो’ शीर्षकमा भावनाथ प्याकुरेल लेख्छन्, “असल विद्यार्थी नै असल नेता हुन्। असल नेता नै देशको विकास गर्ने दूरदर्शिता देखाउन सक्छन्। त्यसैले पनि राजनीतिक दल र शिक्षाको क्षेत्रमा काम गर्ने प्रत्येक राष्ट्र सेवकले शिक्षामा आमूल परिवर्तन गर्न आजै पहल गर्न आवश्यक छ।”
शिक्षाका बारेमा डेक्कन क्रोनिकलले भनेका छन्, “२१औं शताब्दीको शिक्षाको परिदृश्य डिजिटल आविष्कार र प्रविधिको प्रभावले निर्विवाद रूपमा परिवर्तन भएको छ। जहाँ विद्यार्थीहरू कुनै समय सिकाइ प्रक्रियामा केवल दर्शकमात्र थिए, निष्क्रिय रूपमा सूचना प्राप्त गर्ने, प्रविधिले उनीहरूलाई उनीहरूको शैक्षिक यात्रामा सक्रिय सहभागी बन्न सक्षम बनाउँछ।”
प्राज्ञिक व्यक्तित्वहरू सत्य र प्रगति पक्षमा उभिन्छन् अनि नकारात्मकता हटाउन र समाजको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन सहयोगी हुन्छन्। तर दुर्भाग्यको कुरो त्यो क्षमता र नियत प्राज्ञिकहरूमा त्यो क्षमता र नियत देखिएन। यसको मुख्य कारण उनीहरूले प्राप्त गरेको शिक्षा ठीक थिएन र छैन् अनि उनीहरू व्यक्तिगत स्वार्थ हेरेर गलत भाष्य स्थापित गर्ने भूमिका निर्वाह गरिरहेका छन्। जसका कारणले सामाजिक मनोविज्ञान अनपेक्षित रूपमा नकारात्मक बन्दैछ। जुन देशको आवश्यकता र जनचाहना पनि होइन।
अन्तमा हामीले बुझ्नु र बुझाउनु पर्छ, प्रजातन्त्र आएको सात दशकपछि पनि हामी कस्तो प्रजातन्त्र, कस्तो शासन व्यवस्था र गणतन्त्र कि राजतन्त्र भन्ने अनावश्यक प्रश्नहरूमा अलमलिरहेका छौं। जबकि हामी शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीलाई समयानुकुल बनाउन केन्द्रीत हुनुपर्थ्यो। राज्य सत्ताको नेतृत्व गरिरहेकाहरू हुन् कि अभिभावकहरूले शिक्षाको आवश्यतक र औचित्य के हो बुझ्नुपर्छ। राज्य र अभिभावकहरूले शिक्षामाथिको लगानी देश र परिवारको भविष्यमाथिको लगानी हो भनेर बुझेको हुनुपर्छ। परदेशिने संस्कृतिलाई बढावा दिने शिक्षा व्यवस्थाको अन्त्यका लागि आवाज उठाउनु पर्छ र नयाँ शिक्षा व्यवस्थाको विकास गर्नुपर्छ।