३ असार २०८१, सोमबार 1718640267
Banner

गुरुङको शव नबुझेरै घर फर्किए परिवार

कर्णाली- आठबिस नगरपालिका–५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ । भीमा विसं २०८० चैत २८ गतेका दिन सामान्य पेट दुखाइसम्बन्धी समस्या लिएर उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकी थिइन् ।

प्रदेश अस्पतालका चिकित्सकले पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनी भर्ना गरेको थियो । गत चैत २९ गते उनको शल्यक्रिया गर्नुपूर्व चिकित्सकको टोलीले ‘केस’ सामान्य भएकाले चिन्ता लिनु नपर्ने जनाउँदै शल्यक्रिया कक्षमा लिइएको परिवारका आफन्त कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोही दिन अपराह्न ३ बज्न १० मिनेट अगाडिसम्म सबै ठीकै छ भनेर रगत चढाइरहेकामा एक्कासि ३ बजेतिर तपाईंको बिरामी अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको र त्यसको केही समयपछि मृत्यु भएको जानकारी गराइयो । शल्यक्रियाका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नगराइनु र डाक्टरको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटि र लापर्वाहीका कारण गुरुङको मृत्यु भएको ठहर हुन्छ ।”

भीमको मृत्युका कारण आक्रोशित आफन्तले अस्पतालमा होहल्ला समेत गरेका थिए । सो क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिनुभएको थियो ।

पीडित पक्षले भने केश निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको श्रीमान् तथा घर परिवारको मान्छेलाई कुनै जानकारी नगराइएको आरोप लगाएका छन् ।

पीडितको प्रश्न गर्दै भनेका छन्, “केश गम्भीर एवं जटिल हुँदा स्त्रीरोगसम्बन्धी सिनियर डाक्टर उपचारमा किन संलग्न हुन सकेनन् ? निर्देशक डा खड्का स्वयं स्त्रीरोग विशेषज्ञ हुँदाहुँदै आफैँले किन उपचारमा चासो दिनुभएन ? उनीहरुले निर्देशक डा खड्का निजी अस्पताल सञ्चालक भएकाले आफ्नै निजी अस्पताल र क्लिनिकप्रति बढी चासो दिएकाले भीमाले मृत्युवरण गरेकोसमेत दोषारोपण गरेका छन् ।”

अस्पतालको चरम लापर्वाहीका कारण आठ महिने दूधे बालिकाको बेहाल भएको भन्दै उनीहरुले गुरुङ मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने मृतकका श्रीमान् नवराज बलामी मगरले बताउनुभयो ।

उहाँका अनुसार बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको सुनिश्चितता र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै आठ दिनसम्म शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गरिएको थियो ।

आठ दिनसम्म पनि अस्पताल प्रशासनले पीडितको मागमा गाम्भीर्यता नदेखाएपछि उनीहरु शव नबुझेरै घर फर्केका छन् । यो घटनामा सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला सञ्जाललगायत सबै सरोकारवालालाई न्याय प्राप्तिका लागि सहयोग गरिदिन पीडित पक्षले अपिल गरेका छन् ।

अस्पतालनका निर्देशक डा खड्काले घटनामा चिकित्सकको कुनै लापर्वाही नभई केस जटिल खालको भएकोले बचाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा परिवार र डाक्टर सबैको ठूलो प्रयास थियो ।

बिरामीलाई कुनै पनि हालतमा बचाउनुपर्छ भन्ने गरी नै हामीले काम गर्दछौँ तथापि बचाउन सकिएन ।” सानो बच्चाको अवस्थालाई हेरेर आफूले व्यक्तिगत सहयोग गर्ने र एक जनालाई रोजगारी दिने उहाँको भनाइ छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पीडितसँग बसेर उनीहरुको समस्या दुई÷तीन दिनमै समाधान गरिने बताउनुभयो । उहाँका अनुसार अस्पताल र पीडित पक्ष दुवैलाई बसालेर समस्याको शीघ्र समाधान गरिनेछ । रासस