१८ मंसिर २०८१, मंगलबार 1733270246
Banner

हाम्रो विश्वदृष्टिकोण हाम्रो प्रगतिको आधार

“शिक्षा भनेको तथ्य सिक्नु होइन, दिमागलाई सोच्न तालिम पनि दिनु हो।” (अल्बर्ट आइन्स्टाइन)

यदि अवसर पाएनन् भने बुद्धिमानी र साहसी मान्छेहरूले पर्खदैनन् बरू आफू र अरूका लागि अवसर प्राप्त गर्ने बाटो तय गर्छन्। उनीहरूले बुझेका हुन्छन्, अवसर माग्नु कमजोरी हो सकारात्मक, रचनात्मक, साहसी र दृढ हुनु भनेको शक्ति भित्रबाट आउनु हो, बाहिरबाट होइन। नागरिकमा यो खालको सोच विकास गर्न शिक्षा व्यवस्थाको चरित्रले मुख्य भूमिका खेलेको हुन्छ। त्यसैले यति बेला हामीले हाम्रो शिक्षा व्यवस्थाको चरित्र कस्तो बनाउने भन्ने प्रश्नमा केन्द्रीत भएर हाम्रा सामर्थ्यहरू प्रयोग गर्नुपर्ने भएको छ। हामीले बुझ्नुपर्छ, “शिक्षा चेतनाको विकास, आर्थिक स्थितिमा सुधार र जनताको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने मुख्य माध्यम हो।”

शिक्षाका बारेमा शिक्षाविद् रोबर्ट एम. हचिन्सले भनेका छन्, “शिक्षाको उद्देश्य विद्यार्थीहरूलाई सुधार वा मनोरञ्जन वा उनीहरूलाई विशेषज्ञ प्राविधिक बनाउनु मात्र होइन। तिनीहरूको दिमागलाई अस्थिर बनाउनु, तिनीहरूको क्षितिज विस्तार गर्नु, तिनीहरूको बुद्धिलाई उत्तेजित गर्नु, सम्भव भएसम्म तिनीहरूलाई सीधा सोच्न सिकाउनु हो।” नोम चोमस्कीले भनेका छन्, “सत्य बोल्ने र झुटको पर्दाफास गर्ने जिम्मेवारी बुद्धिजीवीहरूको हो।” आज शिक्षाविद्, प्राज्ञिक तथा बौद्धिक वर्गले भन्न सक्नुपर्छ, नयाँ शिक्षाको विकासबिना देशको अवस्थामा सकारात्मक परिवर्तन गर्न सकिन्न। त्यसैले भनिएको होला, शिक्षा सकारात्मक परिवर्तनको जननी हो र भाषा त्यसको आधार।

शान्त र समृद्ध देश निर्माणका लागि सबैका लागि गुणस्तरीय शिक्षा अनिवार्य हुन्छ भने शिक्षालाई गुणस्तरीय र समावेशी बनाउन भाषाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। “शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जुन तपाईंले संसार परिवर्तन गर्न प्रयोग गर्न सक्नुहुन्छ।” (नेल्शन मण्डेला) “एउटा देश बनाउनुभन्दा पहिला त्यस देशको भाषा निर्धारण गर्नुपर्छ।” (टाल्सटाय) मण्डेला र टाल्सटायको भनाइबाट बुझ्नुपर्छ, देश कस्तो बनाउने भन्ने कुरा त्यो देशको शिक्षा र शिक्षामा प्रयोग हुने माध्यम भाषाहरूले तय गर्छ। त्यसैले कस्तो शिक्षा भन्ने प्रश्नको उत्तर खोज्नुभन्दा अघि कुन विश्वदृष्टिकोणलाई आधार बनाएर शिक्षा व्यवस्थाको विकास गर्ने भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ। तर हामी मूल प्रश्नमा केन्द्रीत भएर क्रियाशील भइरहेका छैनौं। जसले गर्दा देशको परिस्थिति र जनताको मनस्थिति सकारात्मक बनिरहेको छैन्।

देशको यही नकारात्मक परिस्थिति र जनताको मनस्थितिलाई उपयोग गरेर देश विरोधी शक्तिहरूले आन्तरिक राजनीतिमा हस्तक्षेप बढाइरहेका छन्। यसका लागि उनीहरूले बुर्जुवा दक्षिणपन्थी अवसरवादी र आत्मसमर्पणवादीहरूलाई नयाँ र स्वतन्त्रका नाममा नेपालको राजनीतिमा स्थापित गर्न लगानी गरिरहेका छन्। तर दुर्भाग्य नेपाली जनताले नयाँ र स्वतन्त्र भन्नेहरूको असलियत चिन्न सकेका छैनन्। जनताको यो असक्षमता र अन्यौललाई बाह्य शक्तिहरूले हस्तक्षेपको आधार बनाइरहेका छन्।

नेपालमा बाह्य हस्तक्षेप कमजोर बनाउने हो भने हामीले सबभन्दा पहिले हाम्रो मनस्थिति सकारात्मक, रचनात्मक र देशमुखी बनाउनु पर्छ। यसका लागि हाम्रो शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्छ। मतलब पूर्वीय विश्वदृष्टिकोणको जगमा शिक्षा व्यवस्थाको विकास गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने हो। तर हाम्रो शिक्षा व्यवस्थामा पश्चिमा विश्दृष्टिकोण र भाषा हावी भइरहेको छ, किनभने हाम्रो शिक्षा व्यवस्था म्याकुल्ले सिद्धान्तबाट प्रभाववित र निर्देशित भएर कार्यान्वयन भइरहेको छ। यो कुरो शिक्षाविद, शिक्षा मन्त्रालयको नेतृत्व र प्रधानमन्त्री स्वयंले नबुझेका होइनन्। तैपनि उनीहरू त्यसकै निरन्तरतामा रमाइरहेका छन्। जसले गर्दा हाम्रो सोच र व्यवहारमा पश्चिमा विश्वदृष्टिकोण हावी भइरहेको छ र बाह्य चलखेल सहज बन्दैछ।

शिक्षामा पश्चिमा विश्वदृष्टिकोण र भाषाको प्रभाव बढ्दा हाम्रो नयाँ पुस्तामा पलायन संस्कृति व्यापक बन्दैछ। यो प्रवृत्ति समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पको यात्रामा बाधक बनिरहेको छ। नयाँ पुस्ता देशको पहिचान ‘नेपाली नागरिकता’ त्यागेर विदेशी नागरिक बन्नुलाई आफ्नो प्रगति भएको ठान्दैछ। आज तिनै नेपाली मूलका पश्चिमा नागरिकहरूलाई प्रयोग गरेर ग्लोबल नर्थले नेपालको राजनीतिमा नेपाली भर्सनका जेलेन्स्कीहरूलाई बलियो बनाउन भिन्नै ढंगले लगानी गरिरहेको छ। यसका लागि भ्रामक भाष्यमार्फत खराब पात्र र प्रवृत्तिलाई सञ्जाल र सञ्चार माध्यमहरूबाट असल देखाउने निरन्तर प्रयास पनि भइरहेको छ।

नेपालमा एउटा अचम्मको अवस्था बनेको छ, रूपमा हाम्रो आन्तरिक राजनीतिमा दक्षिणको हस्तक्षेप भइरहेको देखिन्छ भने सारमा पश्चिमाहरू अर्थात ग्लोबल नर्थको प्रभाव र दबाब बढिरहेको छ। जबसम्म हाम्रा चक्षुहरूले यो सत्य के हो देख्न र बुझ्न सक्दैन् तबसम्म हामीमाथि बाह्य शक्तिहरूको हस्तक्षेप स्वभाविक र सहज भइरहन्छ। त्यसैले आज हाम्रो सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि सबभन्दा पहिला पूर्वीय विश्वदृष्टिकोणको जगमा नयाँ शिक्षा व्यवस्थाको विकास गर्नुपर्छ। जसले हाम्रो राष्ट्रियता र राष्ट्रिय पहिचान प्रधान हो भनेर नयाँ पुस्तालाई सिकाउने छ।

आज हामीले बुझ्नुपर्छ, ग्लोबल नर्थ अर्थात पश्चिमाहरूले दान अनुदान र लोकतन्त्रको आडमा नेपालमाथि आफ्नो प्रभाव र दबाब बढाउँदै छन्। अनुदानमार्फत भाषिक, सांस्कृतिक र धार्मिक अतिक्रमण बढाइरहेको छन् भने लोकतन्त्रको नाममा बिकाऊ नेतृत्व र आफ्नो स्वार्थअनुसारको नीतिहरू तयार गर्दैछन्। त्यही रणननीतिअनुरूप नेपाली भर्सनका जेलेन्स्की रवी लामिछानेलाई नयाँ र वैकल्पिक राजनीतिको हिरो बनाउन खोजिदैछ। त्यसैले पश्चिमाहरूले हामीलाई गरेको आर्थिक सहयोग हाम्रो क्षमता विकास, अवस्थामा सुधार र प्रगतिमा केन्द्रीत छैन् भन्ने कुरा बुझ्न नसक्दासम्म हामी अनुदानको विषालु चास्नीमा झिंगा झैं डुबिरहन्छौं र पश्चिमाहरू हाम्रो पहिचान (भाषा, धर्म, संस्कृति र देश – माथि अतिक्रमण गर्न सफल भइरहन्छन्। यो कुरो जनताले मात्र होइन, अधिकांश राजनीतिक, प्रशासनिक, न्यायिक र प्राज्ञिक नेताहरूले पनि बुझिरहेका छैनन्।

अराजक, स्वछन्द, चरित्रहीन र नैतिकहीन पात्र अनि विचारहीन राजनीतिलाई चिन्न नसक्नु जनताको कमजोरी हो। जनतामा त्यो क्षमता विकास नहुनु शिक्षा व्यवस्थाको कमजोरी हो। शिक्षामा त्यो चरित्र नहुनु म्याकुल्ले शिक्षा पद्धतिको उपज हो। त्यसैले शिक्षामा आमूल परिवर्तन गरी नयाँ नेपाल बनाउने आधार तयार गर्नुपर्छ। तर हिजोआज नेपालको राजनीतिमा जति उग्र उति सफल, जति अराजक र स्वछन्द उति आदर्शवान, जति विवादित उति नैतिकवान र चरित्रवान भन्ने गलत भाष्य स्थापित गर्न खोजिदैछ। रवी लामिछाने र रेशम चौधरीहरूको वाहवाही त्यसकै प्रमाण हो। यस्ता पात्रहरूले गर्ने राजनीतिले भोलिका दिनमा देशमा अझ संकट निम्त्याउने छ।

बुद्धि विवेक प्रयोग नगरी भ्रमित भिंडको गलत भाष्य र पात्रका पछि लाग्ने नागरिक तयार गर्ने शिक्षा व्यवस्था कायम भएसम्म नेपालको राजनीतिमा प्रचण्ड प्रवृत्ति र भ्रमपूर्ण लोकप्रियतावाद अर्थात रवीहरूको चर्चा भइरहन्छ। अनि देशको अवस्था सकारात्मक बनाउने परिपूर्ण लोकतन्त्रलाई आदर्श मान्ने राजनीति बलियो बन्न पाउँदैन्। त्यसैले राजनीतिमा विचार, नीतिमा स्पष्टता र राजनीतिक नेतृत्वमा नैतिकता र चरित्रता छैन् भने त्यो अवसरवादमा परिणत हुन्छ र बाह्य शक्तिको भरिया बन्छ। आज त्यही प्रकृतिको खराब राजनीति र प्रवृत्तिको खराब राजनीतिक नेतृत्व चिन्न नसक्दा हामी खराब पात्रहरूबाट शासित हुन बाध्य भइरहेका छौं। यो लेखकको बुझाइमा यस्तो हुनुमा जनताले पाउने शिक्षा र सूचना नै ठीक भएन।

ग्लोबल नर्थले हाम्रो यो अवस्थालाई नेपालमा आफ्नो स्वार्थअनुकुलको राजनीति बलियो बनाउने, सोअनुसार नेतृत्व स्थापित गर्ने र नीति बनाउने अवसर ठानेको छ। त्यसैले त उनीहरूले हामीहरूलाई भ्रमित बनाउने उद्देश्यका साथ सञ्चार र सञ्जालमा लगानी र गतिविधिहरू बढाइरहेका छन्। जसले नेपाली भर्सनको जेलेन्स्कीको राजनीति बलियो बन्दैछ भन्ने हल्ला व्यापक भइरहेको छ। तर हामी जनताको चेतना र विवेकले त्यसलाई चिर्न वा प्रतिरोध गर्न सकिरहेको छैन्।

हाम्रो यो कमजोर चेतना र आत्मबल अनि भ्रमित मनोविज्ञान ग्लोबल नर्थका लागि उपयुक्त वातावरण बनेको छ। त्यसमाथि सत्यतथ्य नबुझी भ्रममा परेर भावनात्मक रूपमा भड्किने हाम्रो प्रवृत्ति उनीहरूको रणनीति सफल बनाउने आधार बन्दैछ। त्यही रणनीतिअनुरूप हिजो रवीन्द्र मिश्र त आज रवी लामिछानेहरूलाई वैकल्पिक राजनीतिको नाममा राजनीतिक मैदानमा उतारिएको थियो र छ। रवीन्द्रको नियत हामीले थाहा पाइसकेका छौं भने रवीको नियत, नैतिकता र चरित्र उजागर हुँदैछ। त्यसैले राजनीतिलाई परिपूर्ण लोकतन्त्रको बाटोमा हिंडाउन राजनीति र राज्यको नीति देशमुखी र जनमुखी बनाउनु पर्छ। यसका लागि शिक्षा व्यवस्थाको चरित्र हाम्रो विश्वदृष्टिकोणको जगमा विकास गरेर कार्यान्वयनमा लैजान लगानी पनि बढाउनु पर्छ। अन्तमा हामीले बुझ्नैपर्छ, हाम्रो विश्वदृष्टिकोण नै हाम्रो दिगो प्रगतिको आधार हो।