काठमाडौं । दक्षिण एशियाली महिलाहरुको ३ दिने सम्मेलन काठमाडौंमा हुँर्दै छ । “ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तिकरण”लाई मुख्य विषयवस्तु बनाएर उक्त सम्मेलन गर्न लागिएको हो । ललितपुरको हिमालय होटलमा यहि बैशाख ३०, ३१ र जेठ १ गते सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनमा दक्षिण एशियाभरिका महिलाहरुले आर्थिक सशक्तिकरणका विषयमा झेलेका र भोगीरहेका अप्ठ्यारोको विषयवस्तुलाई लक्षित गरेको छ । जसमा वित्तिय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकास रहेका छन् । साथै लघु, साना र मध्यम स्तरका व्यवसायहरुलाई विषेश जोड दिदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयहरुलाई समेट्न खोजेको छ ।
सम्मेलनको मुख्य उद्देश्य दक्षिण एशिया भित्रका महिला उद्यमीहरु ग्रामीण पर्यटन व्यवसाय अन्तर्गतका महिलाहरुको आर्थिक सशक्तिकरण, डिजिटल प्रविधिसँग सम्बन्धित सेवा सुविधाहरु, क्षमता विकास, आयश्रोतको बृद्धि, लैङ्गिक समानता र प्रतिस्पर्धात्मक सोचलाई विश्व बजारसँग समन्वय गर्नको लागि अवसर प्रदान गर्नु रहेको छ । सम्मेलनमा दक्षिण एशियाली महिलाहरुलाई एउटै संजालमा राखेर उनीहरुको अनुभव आदान प्रदान गरि ग्रामीण महिलाहरुलाई रोजगारीको अवसर सिर्जना गराउन भूमिका निर्वाह गर्ने बताईएको छ । साथै कार्यक्रममा विभिन्न क्षेत्रका महिला उद्यमीहरुका सफलताको कथापनि प्रस्तुत गरिने छ । सम्मेलनमा दक्षिण एसियाली महिलाहरुको संजाल नयाँ दिल्ली भारतका प्राध्यापक एवं पूर्व राजदूत वीणा सिक्रिका अनुसार दक्षिण एसियाका कयौं अगुवा महिलाहरुको सहभागिता रहनेछ ।