काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा धरपकड गर्ने घटनालाई राज्य आतंकको संज्ञा दिएका छन् ।
नेपाल प्रेस, नयाँ पत्रिका दैनिकलगायतका सञ्चारगृहमा प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाउँदै संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको बताएका छन् ।
पत्रकारहरूलाई पक्राउ गरेर पछि रिहा गर्दैमा घटनाको गम्भीरता समाप्त नहुने उनको भनाइ छ। उनले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उनले भनेका छन्, ‘अझ संविधानको ठाडो उल्लङ्घन गर्दै मच्चाइएको राज्य आतंकपछि प्रधानमन्त्रीको सचिवालय, सञ्चार मन्त्री, सत्तारुढ दलका प्रवक्ताले दिएको अभिव्यक्ति उदेकलाग्दो छ। प्रधानमन्त्री र सत्तारुढ दलका नेतालाई थाहै नहुनेगरी यो देशको सुरक्षा निकाय कसले परिचालन गरेको छ ? नेपाल प्रहरीका प्रवक्ताले प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकार पक्राउ गरेको स्पष्टीकरण दिएका छन् ।’
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा राजनीतिक दल छुट्टै, सरकार छुट्टै हुन सम्भव नभएको बताएका छन्। उनले कार्यकारी प्रमुख प्रधानमन्त्रीले सरकार मातहतका निकायले गरेका काम थाहा पाइन भन्न नमिल्ने बताए ।
उनले थपेका छन्, ‘यस घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापतिले लिँदै सार्वजनिक रूपमा माफी माग्ने र आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउनु पर्दछ। यस घटनाको गहिरो छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्दै स्वतन्त्र पत्रकारिता गर्न पाउने संवैधानिक हकको सुनिश्चितता गरिनुपर्दछ।’

