२३ भाद्र २०८१, आइतबार 1725784918
Banner

२ अर्ब १ करोड माथिको अवैध कारोबार गर्ने एक युवक पक्राउ

काठमाडौँ । अनलाइन जुवामार्फत २ अर्ब १ करोड कारोबार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका नेपाली युवक अनिल ढुंगानाले भारतीय परिचयपत्रहरु समेत बनाएको पाइएको छ । उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको सोमबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

यस्तै उनको साथबाट एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत बरामद भएको छ ।

काभ्रे घर भई हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएका उनले बैंकमार्फत ६१ कारोड ६४ लाख ५९ हजार १२० रुपैयाँ कारोबार गरेको खुलेको छ । यस्तै डिजिटलवालेटमार्फत ५ करोड ९३ हजार ७८२ रुपैयाँ तथा क्रिप्टोकरेन्सीमार्फत १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । उनी सामाजिक सञ्जालमा जुवा ३६५ नामको पेज चलाएर प्रचार गर्दै आएका थिए ।

उनले विभिन्न व्यक्तिहरुको नाममा रहेका ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंकखाता लिंक गरेर कारोबार गरेको पाइएको छ । यस्तै १५ वटा वालेटहरुका साथै बाइनान्समार्फत २ वटा खाता प्रयोग गरी विभिन्न २४३ वटा क्रिप्टोकरेन्सीमार्फत कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ ।