१२ श्रावण २०८१, शनिबार 1722082747
खेलकुद

क्यानका अध्यक्षको राजीनामा माग

काठमाडौँ : नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ। आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो।

क्यान अध्यक्ष चन्द अन्तरराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई विश्वकपका लागि दिने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टोलीमा नराखी डाक्टरको ठाउँमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ। 

अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउन राति—राति होटलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लगाएको आरोप लगाउँदै यसबारे सत्यतथ्य छानबिन गर्नसमेत माग गरेको छ। 

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सचिव विप्लव घोषले विश्वकपअगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोवास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको विषय क्यानका पदाधिकारी एंव केन्द्रीय सदस्यहरूले कुरा उठाएको दावी गरे। 

यसबारे अविलम्ब छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गरे। सन्दीप लामिछानेलाई १५ सदस्यीय टोलीमा समेट्न नसकेको बारेमा पनि अविलम्ब छानबिन गर्न माग उनले गरे। 

अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उनकी श्रीमतीलाई ट्याङ्ग आउट स्पोर्ट्स बार, इर्भिङमा ख्वाएवापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानूनी रुपमा उठाएको, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको आरोप पनि महासंघले लगाएको छ। 

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रकियाको लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यसमा क्यानका पदाधिकारीको मिलेमतोविना असम्भव रहेको भन्दै छानबिनको माग गरेको छ।

क्यानको लेटरप्याडमा नागर्जुन नगरपालिकाका मेयरसहित पूर्ववडाध्यक्षलाई क्यानका सचिवले विश्वकप अवलोकन गर्न अनुरोध गरेको पत्र मेयर आफैँले सामाजिक सञ्जालमा प्रकाशित गरेकोबारे पनि छानबिन गर्न महासंघले माग गरेको छ।

सत्यतथ्य पूर्ण रुपमा सार्वजनिक नगरेसम्म महासंघले क्रमबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।